३३ किलो सुन प्रकरण : सनम शाक्यको हत्या अभियोगमा गोरेलाई जन्मकैद

३३ किलो सुन प्रकरण : सनम शाक्यको हत्या अभियोगमा गोरेलाई जन्मकैद

विराटनगर । ३३ किलो सुन तस्करी प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अभियोगको मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ । उनी सनम शाक्यको हत्या, अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहरिएका हुन् । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा उनीसहित ८ जना दोषी ठहर भएका छन् । अन्य सबैले सफाइ पाएका छन् ।

फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेतीसँगै टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ । अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् । अन्यले सफाइ पाएका छन् ।

२०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । भरिया उर्लाबारीका सनम शाक्य थिए । उनले बोकेको सुन सम्बन्धित व्यक्तिसम्म नपुग्नै बीचमै खोसियो । घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप लागेको थियो । यस प्रकरणमा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पनि आरोपित थिए ।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्