बैंक लुटपाट घटना : विराटनगर–कर्सिया कनेक्सन खोज्दै प्रहरी

बैंक लुटपाट घटना : विराटनगर–कर्सिया कनेक्सन खोज्दै प्रहरी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ कर्सियास्थित सिटिजन बैंकको शाखामा सोमबार दिउँसो लुटपाट भयो । दिउँसै लुटेरा समूहले बैंकमा प्रवेश गरी सुरक्षा गार्डमाथि गोली चलाए, काउन्टरबाट रकम लुटेर फरार भएका थिए । घटनामा संलग्नमध्ये प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगर–३ मुनालपथका ३२ वर्षीय श्याम मुखियालाई पक्राउ गरेको छ ।

त्यसका आधारमा थप पाँचजनाको समेत प्रहरीले पहिचान गरेको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । घटनामा संलग्नहरु भारततर्फ फरार रहेकोले विशेष फोर्सलाई खोजतलासका लागि खटाइएको छ ।
मोरङ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याएकै बखत प्रदेश राजधानी रहेको जिल्ला मोरङका लागि यो दोस्रो लुटपाटको घटना हो । यस अगाडी प्रदेश राजधानी विराटनगरको मध्य बजारमै लुटपाटको घटना भएको थियो । यहाँको एउटा गार्मेन्टमा प्रवेश गरेर ५० हजार नगद चोरिएको तीन दिन अगाडीको घटना सेलाउन नपाउँदै कर्सियामा बैंक लुटिएको हो । दुरीका हिसाबले विराटनगर–कर्सिया १५ किलोमिटर छ ।

मोरङ प्रहरीले घटनालाई गम्भीर रुपमा लिएको दावी गरेको छ । तर, चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयन फितलो भएको भन्दै प्रहरीको आलोचना समेत उतिकै भईरहेको छ । मोरङ प्रहरीका प्रहरी उपरीक्षक जनार्दन जिसी, प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ, प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङ्ग यो घटनापछि निरन्तर घटनाको अनुसन्धानमा आफैं सहभागी भएका छन् ।
कर्सिया र विराटनगरमा दिनदहाडै हतियारसहित लुट्न खोजिनुले प्रहरीको विशेष सुरक्षा योजनाको कार्यन्वन फितलो भएको पुष्टि भएको देखिन्छ । नागरिकले प्रहरीले मुख्य रानी नाका आसपास कडाई गरेर सहायक नाकाबाट तस्करी खुल्ला गरेका कारण घटना भएको दावी गरेका छन् । सीमा क्षेत्र खुल्ला गर्ने विषयमा सशस्त्र प्रहरीको समेत संलग्नता रहने गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले समेत लाइनवालासँग मिलेर काम गरिरहेको आरोप लाग्दै आएको छ ।

वितगमा समेत चाडपर्व नजिकीएपछि प्रहरीले तस्करीको लाइन खोल्ने गरेको थियो । यस पटक त्यो भन्दा फितलो निगरानीमा तस्करीको लाइन चलाउन दिएका कारण हतियारधारीको समूह प्रवेश गरेको दक्षिणवर्ती क्षेत्रका नागरिकको गुनासो छ ।
मोरङमा ६३ किलोमिटर खुल्ला सीमा क्षेत्र रहेका कारण अवैध चोरी निकासी–पैठारीको धन्दा नियन्त्रण बाहिर भएपनि आपराधिक गतिविधिका लागि हतियारधारी समूह प्रवेश गर्न सक्ने संभावनामा प्रहरी आकंलन कमजोर सावित भएको कर्सियाका व्यवसायी बताउँछन् ।
मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठ सुरक्षा योजना कार्यन्वयनमा समस्या नरहेको दावी गर्नुहुन्छ । उहाँले चौकचौकमा बसेको प्रहरीले व्यक्तिका घर–घर हेर्न नसक्ने बताउनुभयो । तर, सुरक्षाा योजनामा आर्थिक गतिविधि हुने बैंक तथा वित्तिय संस्थामा निगरानी गरिने कुरालाई प्राथमिकतामा राखिएको छ ।

खुल्लम्खुल्ला हतियारसहित विराटनगरमा पसल लट्ने कार्य हुनुलाई प्रहरीको कमजोर उपस्थितिको अनुभूति दिलाएको थियो, लगतै कर्सियाको घटनाले सुरक्षा व्यवस्था कमजोर भएको सावित गरेको छ ।
प्रवक्ता श्रेष्ठले नागरिक–प्रहरी साझेदारीले मात्रै सुरक्षा व्यवस्था मजबुत हुनसक्ने बताउनुभयो । कर्सियाको घटनामा संलग्न तीनजनालाई पक्राउ गर्न सक्नु नै प्रहरीको प्रारम्भिक सफलता मान्नुपर्छ, प्रवक्ता श्रेष्ठले भन्नुभयो–बाँकी पाँचजना समेत चाँडै पक्राउ पर्नेछन् ।
विराटनगरमा तीनदिन अगाडी पसल लुट्ने र कर्सियामा बैंक लुट्ने समूह एउटै हो वा फरक–फरक भन्ने यकिन प्रहरीले गरिसकेको छैन । विराटनगर–कर्सिया कनेक्सन बारे समेत प्रहरीले अनुसन्धान भने गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्