सिटिजन्स बैंक लुटपाट प्रकरण, संलग्न ३ जना हतियारसहित सार्वजनिक

सिटिजन्स बैंक लुटपाट प्रकरण, संलग्न ३ जना हतियारसहित सार्वजनिक

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ स्थित सिटिजन्स बैंक लुुटपाट प्रकरणमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलनको आयोजना गरि प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको होे । पक्राउ पर्नेमा विराटनगर–८ का ३२ बर्षीय श्याम मुखिया, भारतको अररिया जिल्लास्थित सेखपुरा–५ का २८ बर्षीय सुनिल यादव र गोराहा–४ का ३० बर्षीय विजय सहनी रहेका छन् । को २५ प ३८९९ नम्बरको मोटरसाईकलबाट भारततर्फ भाग्ने क्रममा धनपालथान–२ खयरबना चोक नजिकबाट तिनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३० बर्षीय सहनीलाई बाँया तिघ्रामा गोेली लागि घाईते अवस्थामा भारततर्फ भाग्ने क्रममा पक्राउ गरिएको हो । उनको रंगेली अस्पतालमा उपचार भईसकेपछि जिल्ला ल्याईएको हो ।

प्रहरीले पक्राउ प्रतिवादीहरुको साथबाट को २५ प ३८९९ नम्बर भएको १५० सिसिको निलो पल्सर मोटरसाईकल, पक्राउ सुनिल यादवले प्रयोग गरेको १ राउण्ड लोेडेड गोली सहितको कटुवा बन्दुक, घटनास्थलमा नपड्किएको राउण्ड १ थान र खोका १ थान बरामद गरेको छ । यस्तै घाईते गार्ड सितल कुमालको शरिरबाट निकालिएको गोली १ थान र घाईते विजय सहनीको साथबाट नोकिया कम्पनीको १ थान सादा मोबाईल समेत बरामद गरिएको मोरङ प्रहरीका प्रहरी उपरीक्षक जर्नादन जिसीले बताउनुभयो ।

सोमबार दिउँसो हातहतियार सहित आएका ३ जना अपरिचितको समुहले मोरङको धनपालथान–४ कर्सिया बजारस्थित सिटिजन्स बैंक लुटपाट गरेको थियो । प्रतिकार गर्न खोज्दा बैंकका सुरक्षा गार्डलाई उनीहरुले गोली हानी घाईते बनाएका थिए । गार्डलाई घाईते बनाएपछि बैंकका अन्य कर्मचारीहरु काउण्टर छोडेर भागेपछि उनीहरुले बैंक लुटेका थिए । उनीहरुले बैंकबाट करिब २१ लाख ७० हजार रुपैयाँ लुटेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २ भारतीय र १ नेपाली गरि ३ जनाले बैंक लुटेको बैंकको सिसिटिभी फुटेजमा समेत देखिएको छ । लुटपाटका क्रममा गम्भीर घाईते भएका बैंकका सुरक्षा गार्ड रङ्गेली नगरपालिका–२ का ४० बर्षीय सितल कुमाल भने हाल खतरामुक्त छन् । उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गरिएको छ ।

घटनामा अन्य ६ जनाको पनि संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुको खोजी कार्य भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्