सिटिजन्स बैंक लुट प्रकरण : थप एक फरार अभियुक्त पक्राउ

सिटिजन्स बैंक लुट प्रकरण : थप एक फरार अभियुक्त पक्राउ

विराटनगर । मोरङको धनपालथान–४ स्थित कर्सियाको सिटिजन्स बैंक लुट प्रकरणमा संलग्न थप एक फरार अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको बिशेष टोलीले लुटमा संलग्न भारतको अररिया जिल्लाका २२ बर्षीय रोशन यादवलाई पेस्तोल सहित पक्राउ गरेको हो । उनलाई भारतदेखि नै पक्राउ गरि ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका यादव बैंकबाट लुटिएको रकम लिएर सीमावर्ती क्षेत्र हुँदै भारत फरार भएका मुख्य अभियुक्त हुन् ।

लुट प्रकरणका मुख्य योजनाकार र फरार अभियुक्त पक्राउ परिसकेको भएपनि मोरङ प्रहरीले बैंकबाट लुटिएको रकम भने हालसम्म बरामद गर्न सकेको छैन् । यद्यपि बैंकबाट लुटिएको रकम खर्च गर्न त्यति सजिलो नभएकाले लुटको रकम पनि चाँडै नै बरामद गरिने मोरङ प्रहरीका एस.पी जर्नादन जिसीले बताए । लुट प्रकरणको योजनाकार र मुख्य अभियुक्तलाई हामीले पक्राउ गर्न सफल भएका छौं,’ एस.पी. जिसीले भने, ‘अब लुटको रकम पनि छिट्टै फेला पर्छ ।’

असोज २५ गते सोमबार अपरान्ह करिब पौने ४ बजेको समयमा धनपालथान–४ स्थित कर्सिया बजारको सिटिजन्स बैंकमा लुटपाट भएको थियो । बैंकभित्र प्रवेश गरेका ७ जना हतियारधारीको समुहले बैंक लुटेका थिए । प्रतिकार गर्न खोज्दा बैंकका सुरक्षा गार्डलाई उनीहरुले गोली हानेर घाईते बनाएका उनीहरुले करिब २१ लाख ७० हजार रुपैयाँ लुटेर फरार भएका थिए । तर, घटना भएको केही बेरमै स्थानीयको सहयोगमा प्रहरीले उनीहरुमध्ये ३ जनालाई पक्राउ गर्न सफल भएको थियो । प्रहरीले विराटनगर–८ का ३२ बर्षीय श्याम मुखिया, भारतको अररिया जिल्लास्थित सेखपुरा–५ का २८ बर्षीय सुनिल यादव र गोराहा–४ का ३० बर्षीय विजय सहनीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई असोज २७ गते बुधबार मोरङ प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरिसकेको छ । यसअघि पक्राउ परेका अभियुक्तहरुको बयानका आधारमै प्रहरीले थप एक जनालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका उनीहरुले नै यसअघि असोज २२ गते विराटनगरको मेनरोडस्थित कोटेक्स टे«डिङ्गको गार्मेन्ट पसल लुटपाट गरेका थिए ।

उनीहरुमाथि भने सङ्गठित अपराध, हातहतियार, ज्यान मार्ने उद्योग र डकैतीको अभियोगमा मुद्दा दर्ताको तयारी भईरहेको जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्