विराटनगर । अत्याधिक बर्षाका कारण विराटनगर क्षेत्रमा करिब ४० घण्टादेखि अवरुद्ध भएको विद्युत पुनः सुचारु भएको छ ।
निरन्तर वर्षाका कारण नेपाल विद्युत प्राधिकरणको दुुहबी ग्रिड शाखाको कन्ट्रोेल रुममा पानी पसेपछि मंगलबार रातीदेखि विद्युत आपुर्ति रोकिएको थियो । हाल पानीको जलस्तर पनि घट्दै गएको र अवस्था सामान्य हुँदै गएकाले विद्युत आपुर्ति पुनः सुचारु गरिएको प्राधिकरणको विराटनगर वितरण केन्द्रले जनाएको छ । अहिले रानी र टङ्कीसिनवारी सब–स्टेशनको आवश्यक मर्मत गरि विद्युत प्रवाह सुरु गरिएको विराटनगर वितरण केन्द्रका सुचना अधिकारी भरत केसीले बताए । उनले कटहरी सब–स्टेशनबाट पनि विद्युत प्रवाह गर्न मर्मत कार्य धमाधम भईरहेको जानकारी दिए । विराटनगरको सबै भागमा विद्युत आपुर्ति गर्ने प्रयास भईरहेको उनको भनाई छ ।
विद्युत आपुर्ति सुरु भएसँगै दुई रात अन्धकारमा बसेका विराटनगरसँगै पुर्वका अधिकांश सर्वसाधारण समेत उत्साहित बनेका छन् । केही बेरमै प्रदेशभरि विद्युतको नियमित आपुर्ति सुरु हुने प्राधिकरणले जनाएको छ । १८ वटा वितरण शाखा रहेको नेपाल विद्युत प्राधिकरणको प्रदेश १ मा ६ लाख ८२ हजार ८ सय ८९ सेवाग्राही छन् ।
प्राधिकरणको विराटनगर वितरण केन्द्रले ३ सब–स्टेशनबाट विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, बूढीगङ्गा गाउँपालिका र जहदा गाउँपालिकाका ७४ हजार घरधुरीलाई नियमित विद्युत आपुर्ति गर्दै आएको छ ।