महँगियो प्याज

महँगियो प्याज

काठमाडौँ, कात्तिक ५ गते । काठमाडौँ उपत्यकामा दशैँदेखि सुुकेको प्याजको भाउ बढेको छ । दशैँअघि थोकमा प्रतिकेजी ४५ रुपियाँमा किनबेच भएको प्याजको भाउ दसैँदेखि बढेर अहिले प्रतिकेजी ८२ रुपियाँ पुुगेको छ ।

अन्य बेलाको तुुलनामा दशैँमा प्याज माग ह्वात्तै बढ्ने हुँदा भाउ बढेको हो । अघिल्ला वर्षहरूका दशैँमा पनि प्याजको मूल्य बढ्ने गरेको थियो तर यो वर्षजस्तो धेरै महँगो नभएको उपभोक्ता बताउँछन् । असोज २० सम्म प्रतिकेजी ४५ रुपियाँमा किनबेच भएकामा घटस्थापनामा प्रतिकेजी ६० रुपियाँ हुँदै फूलपातीसम्म ८२ रुपियाँ पुगेको छ । दशैँ सुरु भएयता प्याजको भाउ थोकमै प्रतिकेजीमा ३७ रुपियाँमा महँगो भएको हो ।
व्यापारीहरू भने प्याज दशैँका कारण भन्दा पनि भारतमै महँगो भएकाले यसको असर नेपाली बजारमा परेको बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले कालीमाटी तरकारी बजारमा प्याजको भाउ थोकमै ८० देखि ८२ रुपियाँमा कारोबार भएको छ । समितिका अनुसार भारतीय बजारमा प्याजको मूल्य बढ्न थालेकाले यसको असर कालीमाटी बजारमा परेको छ । प्याजको अफ सिजन सुरु भएसँगै चाडपर्वले भारतीय बजारमा प्याज महँगो भएको समितिका प्रवक्ता विनय श्रेष्ठले बताउनुभयो ।
कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले प्याजको मूल्य भारतीय बजारसँग निर्भर रहेकाले उता मूल्य बढेपछि हाम्रो बजारमा बढ्नु स्वाभाविक भएको बताउनुभयो । नेपालमा दैनिक ८० देखि १०० मेट्रिक टनसम्म प्याज खपत हुुने गरेको र यो बेलामा प्याजको सबै माग भारतले धान्ने गरेको छ ।
हरेक वर्ष चाडपर्वको समयमा प्याजको मूल्य बढ्ने गरेको र अहिले माग बढी भएर मूल्य बढेको नभई भारतमै भाउ बढेकाले हाम्रोमा पनि बढेको थोक व्यापारी आचार्यको भनाइ छ । व्यापारीका अनुसार भारतमा प्याजको मूल्य एक सातामा प्रतिकेजी २० रूपियाँसम्म बढेको पाइएको छ । यसले गर्दा स्थानीय बजारमा पनि प्याजको मूल्य लगातार बढिरहेको हो ।

भारतीय बजारमा नै प्याजको माग धेरै हुने गरेको छ । उत्पादन कम र माग धेरै भएकाले केही वर्षदेखि प्याजको मूल्यमा उतारचढाव भइरहेको छ । उताबाट मूल्य घटेर आए मात्र स्थानीय बजारमा प्याजको मूल्य घट्ने हो । नयाँ सिजन सुरु भएपछि मात्र प्याजको मूल्य घट्ने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । गत वर्ष फागुनमा प्याजको मूल्य प्रतिकेजी ८५ रुपियाँ पुगेको थियो । नयाँ सिजन सुरु भएपछि घटेर प्रतिकेजी ३५ रुपियाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्