गाेरखापत्रसमाचारदाता
काठमाडौँ, कात्तिक ५ गते । सरकारले धनगढी विमानस्थलाई क्षेत्रीय विमान स्थलका रुपमा विकास गर्ने भएको छ ।
सुदूरपश्चिमको भ्रमणका क्रममा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको टोलीमा सहभागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले शुक्रवार विमानस्थल निरीक्षणका क्रममा धनगढी विमानस्थलको गुरूयोजना तत्काल सुरु गरिने बताउनुभएको छ ।
गुरूयोजनामा धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसका लागि ३११ बिघा जमिन आवश्यक भएकाले तत्कालै जग्गा अधिग्रहणको प्रक्रिया थालनी हुने मन्त्री आलेले बताउनुभयो । हाल यो विमानस्थलसँग ८७ बिघा जग्गा रहेको छ ।
छिमेकी मुलुकको राजधानी दिल्लीबाट धनगढी नजिक भएकोले कैलाश मानसरोवर जाने भारतीय धार्मिक पर्यटकको लागि सहज हुने भएकाले धनगढी विमानस्थल क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिनुपर्ने आवाज पर्यटन व्यवसायी तथा निजी क्षेत्रले पहिले देखि उठाउँदै आएको थियो ।
त्यसैगरी, आइतबारदेखि धनगढी विमानस्थलबाट सुदूरपश्चिमका सबै पहाडी जिल्लामा नेपाल वायु सेवा निगमले हवाई सेवा सञ्चलान गर्ने भएको छ ।
मन्त्री आलेले गोरखापत्रसँग कुराकानी गर्दै भन्नुभयो, ‘आइतवारदेखि धनगढीबाट पहाडी जिल्लाहरु बझाङ, डोटी, अछाम, बाजुरामा नेपाल वायु सेवाले नियमित उडान गर्छ । प्रधानमन्त्री देउवा समुपस्थितिमा आजैबाट त्यसका लागि तयारी गर्न निर्देशन दिइसकिएको छ ।’
मन्त्री आलेका अनुसार बाढीपहिरोले पहाडी जिल्लाका यातायात अवरूद्ध भइरहेका बेला राहत तथा अत्यावश्यक सामन ढुवानीका लागि पनि हवाई सेवा सञ्चालन भएपछि सहज हुनेछ ।