कात्तिक ११ गतेदेखि बेलबारी गोल्डकप हुने

कात्तिक ११ गतेदेखि बेलबारी गोल्डकप हुने

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गमा आउँदो कात्तिक ११ गतेदेखि चौथो अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधि शून्यप्रायः भईरहेका बेला डाँगीहाट युथ क्लबले लक्ष्मीमार्गस्थित मैदानमा गोल्डकप आयोजना गर्न लागेको हो । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि आयोजकले कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका बारेमा जानकारी दिएको छ ।

प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने डाँगीहाट युथ क्लबका सल्लाहकार भाइकुमार गुरुङले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डीवाईसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतियोगितामा भाग लिने छन् ।

कात्तिक ११ गते हुने पहिलो एवं उद्घाटन खेलमा रोलिङ क्लब झापा र च्यासल क्लबबीच प्रतिस्पर्धा हुने जानकारी गुरुङले दिए । उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि तयारी तीव्र पारिएको छ । बेलबारी नगरपालिकाको सहयोग र बुद्ध एयरको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । बेलबारीको इज्जत एवं प्रतिष्ठासँग जोडिएको गोल्डकप थुप्रै चुनौतीको सामना गर्दै आयोजना गर्न लागिएको डाँगीहाट युथ क्लबका अध्यक्ष एवं आयोजक समितिका संयोजक विक्रम वान्तवा राईले बताए । उनका अनुसार बेलबारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाएको यस प्रतियोगिता कोरोनाका कारण विगतका २ वर्ष आयोजना गर्न सकिएन । मोफसलमा खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगितालाई निरन्तरता दिन लागिएको राईको भनाई छ ।

गोल्डकपका आर्थिक समिति संयोजक राजेश बस्नेतले प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने बताए । उनले प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११÷११ हजार रूपैयाँ नगद पुरस्कार पाउने जानकारी दिए । बस्नेतका अनुसार खेलाडीलाई रात्रिकालीन यातायात खर्च दुईतर्फी रूपमा व्यवस्था गरिने छ । पहिलो खेलमा सहभागी भएर बाहिरिने टिमलाई १५ हजार र त्यसपछि प्रत्येक टिमलाई २० हजार रूपैयाँका दरले सहयोग गरिने उनले बताए । बस्नेतका अनुसार खेलाडीलाई खान, बस्न र दैनिक भत्तावापत १ हजार ३ सय रूपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा ४० लाख रूपैयाँ खर्च र ४५ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको क्लबका अध्यक्ष राईले बताए । प्रतियोगिताबाट नाफा भएको रकम भने खेलाडी उत्पादन र विभिन्न सामाजिक काममा खर्च गरिने घोषणा क्लबले गरेको छ । कोरोनाको संक्रमण सामान्य बन्दै गएकाले ठप्प रहेको खेल क्षेत्रलाई चलायमान बनाउन एवं खेलाडीको प्रोत्साहन र विगतका खेल गतिविधीलाई निरन्तरता दिने उदेश्यका साथ गोल्डकप आयोजना गर्न लागिएको राईको भनाई छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्