प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रको निरीक्षणमा प्रदेश १ आउँदै

प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रको निरीक्षणमा प्रदेश १ आउँदै

सचिन पोख्रेल/प्रेम अधिकारी
गाेरखापत्र
इटहरी, कात्तिक ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवा केही दिनअघि हावाहुरी सहित आएको भारी वर्षाको कारण बाढीपहिरोग्रस्त क्षेत्र प्रदेश नम्बर १ को स्थलगत अवलोकन गर्न आज विहान पूर्वी नेपालको भ्रमणमा आउने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले प्रदेश १ को बाढीपहिरोग्रस्त सुनसरी, इलाम र पाँचथरको स्थलगत अवलोकन गरी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत उच्च प्रशासनिक तथा सुरक्षा पदाधिकारीहरुमार्फत क्षतिको जानकारी लिने र पीडितहरुलाइ सम्बोधन गर्ने कार्यक्रमका साथ प्रदेश १ को भ्रमणमा आउनु हुने भएको हो ।
प्रदेश १ को भ्रमणको क्रममा प्रधानमन्त्री देउवा आज विहान हेलिकोप्टरमार्फत सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी वल मुख्यालय बराह वाहिनी आउने कार्यक्रम रहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले पकलीमा सुनसरी जिल्लामा भएको क्षति तथा नोक्सानीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतका पदाधिकारीहरुबाट बिफ्रिङ लिने कार्यक्रम रहेको छ । त्यसपछि इलाम र पाँचथर जिल्लामा पहिरोगस्त क्षेत्रको हवाइ अवलोकन गरी राँके बजारमा प्रशासनिक तथा सुरक्षा पदाधिकारीमार्फत पहिरोग्रस्त क्षेत्रको जानकारी लिने साथै पीडितहरुलाइ भेट्ने कार्यक्रम रहेको छ ।

यसै वीच प्रधानमन्त्री देउवा इलाम र पाँचथरको सीमाना राके बजार आएर बाढी पीडितलाई सम्बोधन गर्नु हुँने भएको छ । इलामका प्रमुख जिल्ला अधिकारी बहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले इलामको फाकफोकथुम ,माङसेबुङ र चुलाचुली गाउँपालिकाका तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अवलोकन गर्ने कार्यक्रम तय भएको छ । बाढी पहिरोका कारण पाचँथरमा ३० जना र इलाममा १४ जनाको मृत्यु भएको थियो । इलामको फाकफोकथुम र माङसेबुङ गाउँपालिका सबै भन्दा बढी प्रभावित क्षेत्रको रुपमा रहेको छ । प्रधानमन्त्री देउवाले वर्षासँगै उत्पन्न बाढी, पहिरो, डुबानबाट सुनसरी, इलाम र पाँचथर जिल्लामा भएको क्षतिको स्थलगत निरीक्षण अवलोकन गरेर आज अपरान्ह काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्