प्रादेशिक सडक निर्माण तीव्र

<span class='c1'>प्रादेशिक सडक</span> <span class='c2'>निर्माण तीव्र</span>

अविनाश चौधरी
गाेरखापत्र
धनगढी
सुदूरपश्चिम प्रदेशमा प्रदेश गौरवका नौवटा सडकको निर्माणकार्य अगाडि बढेको छ । प्रदेश सरकारले नौवटै जिल्लामा प्रदेश गौरवका सडक निर्माण गर्न लागेको हो । प्रादेशिक गौरवका आयोजनाअन्तर्गत प्रदेशभरि जम्मा १६४ किलोमिटरमा ठेक्का भएर काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार भजनी छोटी भन्सार–खिमडी–ठूलीगाड सडकको कैलालीस्थित बर्दगोरिया गाउँपालिका–४ मा चार किलोमिटर कालोपत्रेका लागि ठेक्का भएर काम भइरहेको छ । सो सडकको लागत सात करोड ७५ लाख रुपियाँ रहेको छ । २०७७ साउन १८ मा ठेक्का भएको सडकको २०७९ माघ १७ गतेसम्म निर्माण अवधि रहेको छ । यो सडक निर्माणमा हालसम्म तीन करोड नौ लाख रुपियाँ खर्च भएको छ ।

बेलौरी–कलुवापुर–बुडर नाइल सडकको कञ्चनपुरस्थित बन्साह–दोमिल्ला नर्सरीखण्डमा ९.१ किलोमिटर कालोपत्रेका लागि ठेक्का भएर निर्माणकार्य भइरहेको छ । कुल ११ करोड ६५ लाख रुपियाँ लागत रहेको सो सडकको निर्माण अवधि २०८० असार मसान्तसम्म रहेको छ । २०७७ साउन २० मा यो सडकको ठेक्का भएको थियो । यो सडक निर्माणमा हालसम्म दुई करोड ५८ लाख रुपियाँ खर्च भइसकेको छ ।
यस्तै, सहजपुर–बोगटान–दिपायल सडकको डोटीस्थित छिडिखान–अकरकाडा र रानागाउँ–वायलखण्डमा निर्माणका लागि ठेक्का भएको छ । २७ किलोमिटरमा कालोपत्रे, सब–बेस र स्ट्रक्चर निर्माण हुने सो खण्डको २०७७ असार ३० मा ठेक्का भएको थियो । २०८० असार मसान्तसम्म निर्माण अवधि रहेको छ । कुल २१ करोड ४६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको सो सडकमा हालसम्म १० करोड ४७ लाखभन्दा बढी रुपियाँ खर्च भइसकेको छ ।
यसैगरी, पातिहाल्न–तल्कोट–सैपाल–हुम्ला सडकको बझाङस्थित जडार–पानकोटखण्डको १४ किलोमिटरमा कालोपत्रेका लागि ठेक्का भई काम अगाडि बढेको छ । सो खण्डमा कालोपत्रेका लागि नौ करोड ५८ लाखमा ठेक्का सम्झौता भएको र हालसम्म दुई करोड ४८ लाखभन्दा बढी रुपियाँ खर्च भएको मन्त्रालयले जानकारी दिएको छ । २०७७ असार २६ मा ठेक्का सम्झौता भएको सो सडकको निर्माण अवधि २०७९ वैशाख मसान्तसम्म रहेको छ । यस्तै, देथला–खार–खलङ्गा–बिटुले–पारिबगर–खण्डेश्वरी सडकको दार्चुलास्थित देथला–खार र देथला–सेलाबगरखण्डमा २० किलोमिटर कालोपत्रेका लागि काम अगाडि बढेको छ । कुल ३३ करोड ८८ लाखमा ठेक्का सम्झौता भएको यो सडकमा हालसम्म १३ करोड ६२ लाखभन्दा बढी रुपियाँ खर्च भइसकेको छ । २०७७ जेठ ६ मा ठेक्का भएको यो सडकको निर्माण अवधि २०८० जेठ ५ गतेसम्म रहेको छ ।

दैजी–जोगबुढा–सलौन–चिरकिट्टे–पोखरा–ढुङ्गाड–बझाङ सडकको डडेल्धुरास्थित जोगबुढा–लिप्रा, पोखरा–बेलार, गाईवादे–लिप्रा र सलौन–चिरकिट्टेखण्डमा कालोपत्रे, स्ट्रक्चर र सब–बेस निर्माणकार्य भइरहेको छ । जम्मा ३५ किलोमिटर सडक निर्माणका लागि ५१ करोड १४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ । २०७६ असार ३० मा ठेक्का भएको यो सडकको निर्माण अवधि २०८० असार २९ सम्म रहेको छ । प्रदेश गौरवको यो सडक निर्माणमा हालसम्म २० करोड तीन लाखभन्दा बढी रुपियाँ खर्च भइसकेको छ ।
यसैगरी, चिसापानी–ऋषिदह–बडिमालिका सडकको अछामस्थित जङ्गलघाट–बस्थाना खण्डको २५ किलोमिटरमा सब–बेस र स्ट्रक्चर निर्माणकार्य भइरहेको छ । नौ करोड ४८ लाख रुपियाँमा ठेक्का भएको सो सडक निर्माणमा हालसम्म तीन करोड चार लाख ५६ हजार रुपियाँ खर्च भइसकेको छ । २०७७ जेठ ९ गते यो सडकको ठेक्का भएको थियो । यसको निर्माण अवधि सकिएको छ । २०७८ जेठ १६ गतेसम्म यो सडक निर्माणको समयावधि थियो । अवधि सकिए पनि निर्माणकार्य भने सकिएको छैन ।
सतबाझ श्रीभावर–हाट–दार्चुला सडकको बैतडीस्थित सतबाझ–श्रीभाव र श्रीभावर हाटखण्डको ठेक्का भई काम भइरहेको छ । सो सडकको १६.५० किलोमिटरमा कालोपत्रे हुने जनाइएको छ । कुल २४ करोड ४२ लाख रुपियाँमा ठेक्का सम्झौता भएको यो सडक निर्माणमा हालसम्म १२ करोड ५२ लाख ७१ हजार रुपियाँ खर्च भएको मन्त्रालयले जानकारी दिएको छ । २०७७ असार २२ मा ठेक्का भएको थियो । २०८० असार २० सम्म निर्माण अवधि रहेको छ ।

यस्तै, प्रदेश गौरवको खप्तड–मार्तडी सडकको बाजुरास्थित भौनेरा–आटिचौरखण्डमा स्ट्रक्चर र सब–बेस निर्माणको काम भइरहेको छ । सो खण्डमा १५ किलोमिटर लामो निर्माणका लागि छ करोड ३० लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । हालसम्म पाँच करोड ७६ लाख ४४ हजार रुपियाँ खर्च भइसकेको जनाइएको छ ।
२०७७ असार १९ मा ठेक्का भएको यो सडकको निर्माण अवधि २०७८ जेठ १६ सम्म रहेको थियो । अवधि सकिए पनि निर्माणको काम भने सकिएको छैन । प्रदेश सरकारले एक अर्ब ७५ करोड ६६ लाख रुपियाँ लागतमा प्रदेश गौरवको नौवटै सडक निर्माण गर्न लागेको हो । सबै सडक निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयका योजना महाशाखाका अधिकृत प्रेमदत्त भट्टले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्