ताप्लेजुङको याङ्मा र घुन्सामा आलु उत्पादनमा उल्लेख्य वृद्धि

<span class='c1'>ताप्लेजुङको याङ्मा र घुन्सामा</span> <span class='c2'>आलु उत्पादनमा उल्लेख्य वृद्धि</span>

चन्द्र पन्दाक
गोरखापत्र
ताप्लेजुङ
ताप्लेजुङको हिमाली भेग याङ्मा र घुन्सामा यसवर्ष आलु उत्पादन वृद्धि भएको छ । अर्गानिक र अधिक आलु उत्पादन हुने क्षेत्र भनेर कहलिएको फक्ताङ्लुङ गाउँपालिका– ७ ओलाङ्चुङगोलाको याङमा र वडा नं. ६ लेलेपको घुन्सामा आलु उत्पादन वृद्धि भएको हो ।

जिल्लाकै उच्च मानवबस्ती रहेको क्षेत्र याङ्मा र कञ्चनजङ्घा हिमाल प्रवेशद्वारको रुपमा रहेको घुन्सा बस्तीमा यतिबेला आलु खन्ने चटारो छ । याङ्मा समुद्र सतहदेखि चार हजार २०० मिटरको उचाइमा छ । घुन्सा तीन हजार ४०० मिटरको उचाइमा रहेको बस्ती हो । यहाँको एकमात्र कृषिबालीको रुपमा रहेको आलु खेतीमा उत्पादन वृद्धि भएपछि स्थानीय उत्साहित भएका छन् ।

गतवर्ष आलु उत्पादनमा ह्रास आउँदा याङ्मा र घुन्साका बासिन्दालाई घाटा बेहोर्नुपरेको थियो । गतवर्षको निरासालाई यसवर्षको उत्पादनले भने आलु खेतीमा सङ्लग्न स्थानीवासीको मुहारमा उत्साह थपेको घुन्साका स्थानीय पेमा शेर्पाले बताउनुभयो । शेर्पा आफैँले यो वर्ष आठ मुरी (प्रतिमुरी २० पाथी, अनुमानित ८० केजी) बीउ रोप्नुभएको थियो । बीउ बराबरको खेतीबाट झण्डै तीन गुणा बढी अर्थात २० मुरी आलु उत्पादन भएको उहाँले बताउनुभयो ।

घुन्साकै उटुक शेर्पाले पनि पाँच मुरी आलु रोपेकोमा यसबाट १५ मुरी फलेको बताउनुभयो । सोही गाउँका टाँसी तेन्जिङ शेर्पाले ६ मुरी आलु रोपेर १० मुरी बढी फलाउनुभएको छ । यस्तै, याङ्माका स्थानीय ठावा शेर्पाले पनि सबै किसानले रोपेको बीउको तीन गुणा बढी आलु फलेको जानकारी दिनुभयो । उच्च हिमाली क्षेत्र भएकाले याङ्मा र घुन्सामा आलुबाहेक अन्य खेतीपाती नहुने हुँदा यहाँ आलु नै मुख्य बाली हो ।

यसरी आलु उत्पादन वृद्धि भएपछि सोहीअनुसार राम्रो आम्दानी हुने स्थानीयको भनाई छ । याङ्मा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु मङ्सिरको अन्त्यतिर याक र चौंरीलाई बोकाएर तल्लो क्षेत्रको गाउँसम्म ल्याएर बिक्री गर्छन् । तरकारीलगायत परिकारमा उपभोग गर्न र याङ्मा र घुन्सामा उत्पादन भएको बीउ सबैले मन पराउँछन् ।

तल्लो बेँसी क्षेत्रमा उत्पादन हुने धान, मकै, कोदोजस्ता अन्नसँग स्थानीयले आलु साट्ने गर्छन् । किन्नेले नगद किनेर याङ्मा र घुन्साको आलु उपभोग गर्नेगरेको स्थानीयको भनाई छ । आलु उत्पादन वृद्धि भएपछि घरखर्च र दैनिकी चलाउनलाई सहयोग पुग्ने कृषकहरुको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्