वर्षभरि खाने धान बेमौसमी वर्षाका कारण नष्ट भएपछि चिन्तामा मोरङका कृषक

<span class='c1'>वर्षभरि खाने धान बेमौसमी वर्षाका कारण</span> <span class='c2'>नष्ट भएपछि चिन्तामा मोरङका कृषक</span>

विराटनगर । वर्षभरि खाने धान बेमौसमी वर्षाका कारण नष्ट भएपछि मोरङका किसान चिन्तित बनेका छन् ।

बाली भित्र्याउन ठिक्क पारेको धान अत्याधिक वर्षाका कारण आएको बाढीले बगाएपछि किसानहरु चिन्तित बनेका हुन् । गत सोमबारदेखि लगातार ३ दिनसम्म परेको अत्याधिक वर्षाले कृषकहरुको बर्षभरिको परिश्रम र लगानी बगायो । धान काटेर भित्र्याउन आँटेकै बेला भएको बेमौसमी बर्षातले किसानहरुको लहलहाउँदो धान खेत सखाप बनायो । उनीहरुका लागि पुर्पुरो समाएर रुनेभन्दा अन्य विकल्प छोडेन् । अत्याधिक वर्षाका कारण आएको बाढीले पाँजो मात्र उठाउन बाँकी धान पनि सखाप बनाएपछि हाल कृषकहरु वर्षभरि परिवारको पेट कसरी पाल्ने भन्ने चिन्तामा छन् । पाकेको धानका बाला लेदोसहितको बाढीले पुरिएपछि किसानहरुले हाल सर्वश्व गुमेको महशुस गरिरहेका छन् ।

मोरङ जहदा गाउँपालिका–२ का कलिम मियाँले डेढ बिगाहा क्षेत्रफलमा डिबी एघार र कान्छी धान लगाएका थिए । १५ कठ्ठा क्षेत्रफलमा लगाएको धान उनले काटेर खेतमै सुकाएका थिए । तर, आईतबारदेखि भएको बर्षामा उनले बाली थन्काउन खेतमा सुकाईएका धानको पाँजो डुब्यो । छिटो पाकेर काटन तयार रहेका बाली समेत कामै नलाग्ने बनेको उनले सुनाए । ‘पाँजो उठाउन मिल्छ कि भनी खेतसम्म पुग्छु,’ उनले भने, ‘तर कतै पानीले डुबाएको छ, कतै बगाएको छ । अब पुर्पुरो समाएर रुनेभन्दा केही उपाय छैन ।’

जहदा–२ कै अर्का कृषक मोहम्मद औरन्जेबको पिडा पनि उस्तै छ । बार्षिक डेढ लाख रुपैयाँ तिनुपर्ने शर्तमा ५ बिगाहा जग्गा ठेक्कामा लिएर उनले यसपटक धान खेती गरेका थिए । परिश्रम र लगानी अनुसारको उब्जनी हुने उनको अपेक्षा थियो । उब्जनी पनि राम्रै भयो । तर, बेमौसमी बर्षाले उनको पुरै उब्जनी नष्ट बनायो । हाल उनलाई ठेक्काको पैसा कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । ‘रोइकराइ गरे पनि उब्जनी फिर्ता आउने होइन,’ उनले भने, ‘किसान बन्नु पनि पाप नै हो जस्तो लाग्न थालेको छ ।’

प्रदेश नं. १ मा यसपटक ३ लाख ४० हजार ८ सय हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ३६ हजार हेक्टरमा धान खेती गरिएको थियो । झापा र मोरङका कृषकहरुले सबैभन्दा बढी रन्जित, सुवर्णा, हर्दिनाथ र कान्छी मन्सुली जातका धान लगाएका थिए । जसमध्ये कान्छी, मन्सुली र हर्दिनाथ गरि ६७ हजार हेक्टर क्षेत्रफलको एर्ली बाली कृषकहरुले सुरक्षित कटानी गरेका थिए । बाँकी धान कटानीका लागि तयारी अवस्था थियो ।

तर, बेमौसमी वर्षाले यसपटक काटन बाँकी २ लाख ७३ हजार ८ सय मध्ये ५० हजार हेक्टर क्षेत्रफलमा लगाईएको धान खेतीलाई पुर्ण तथा आंशिक रुपमा क्षति पु¥याएको प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पानीले ५० हजार हेक्टरलाई क्षति पु¥याए पनि नष्ट र कामै नलाग्ने अवस्थामा पुगेको धानबाली भने १५ सय हेक्टर मात्र छ । अत्याधिक वर्षाका कारण सबैभन्दा बढी झापा र त्यसपछि मोरङका अन्नबालीहरु क्षतिग्रस्त अवस्थामा पुगेकोे मन्त्रालयका सुचना अधिकारी राजेन्द्र उप्रेतीले बताए ।

चाडपर्व मनाए लगत्तै कृषकहरुलाई खेती थन्काउने चटारो हुन्छ । बर्षभरि मेहनत गरि लगाएको बाली भित्र्याउन पाउँदा उनीहरु आनन्दित हुन्छन् । तर, किसानहरुका लागि यो वर्ष श्राप नै साबित भएको स्वयंम उनीहरु बताउँछन् । मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने सूचना जारी गरेको भएपनि ग्रामीण क्षेत्रमा त्यसको पहुँचको अभावमा अधिकांश कृषकले अनिश्चित क्षति व्यहोर्नुपरेको उनीहरुको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्