अबुधावी (युएइ) गत उपविजेता इङ्गल्यान्डले बुधबार बङ्गलदेशलाई आठ विकेटले हराएर विश्वकप टि२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।
कप्तान महमदुल्लाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको बङ्गलादेशले निर्धारीत २० ओभरमा नौ विकेट गुमाएर १२४ रन मात्र बनाएको थियो । सुरुमै बलिङ गरेका स्पीनर मोइन अलीले दुवै प्रारम्भिक ब्याट्सम्यान लिटन दास र नइम शेखलाई चाँडै आउट गर्नुभयो । त्यसपछि तेज बलर क्रिस वोक्सले शकिब अल हसनको महत्वपूर्ण विकेट लिनुभयो । बङ्गलादेशले १५ ओभर सक्दा ८३ रनमै छ विकेट गुमाइकेको थियो । इङ्गल्यान्डका लाथि टिमलमिल्सले तीन विकेट लिएर शानदार बलिङ गर्नुभयो । बङ्गलादेशका लागि मुस्फिकर रहमानले सर्वाधिक २९ रन बनाउनुभयो ।
इङ्गल्यान्डले लक्ष्य १४.१ ओभरमा दुई विकेटको क्षतिमा १२६ रन बनाएर हासिल गर्यो । इङ्गल्यान्डका प्रारम्भिक ब्याट्सम्यान जस बट्लर १८ रनमा आउट भएपनि उहाँसँगै क्रिजमा आउनुभएका जेसन रोयले ३८ बलमा पाँच चौका र तीन छक्कासहित ६१ रन बनाएर इङ्गल्यान्डको जित सहज बनाउनुभयो । इङ्गल्यान्डका डेभिड मलान २८ र जोनी बेरिस्टो आठ रनमा अविजित रहनुभयो ।