पाण्डे बागमती प्रदेशका मुख्यमन्त्री नियुक्त हुँदै, चार सदस्यीय मन्त्रिमण्डल बन्ने

<span class='c1'>पाण्डे बागमती प्रदेशका मुख्यमन्त्री नियुक्त</span> <span class='c2'>हुँदै, चार सदस्यीय मन्त्रिमण्डल बन्ने</span>

राममणि दाहाल/गाेरखापत्र
हेटौँडा बागमती प्रदेशले बिहीबार नयाँ मुख्यमन्त्री पाउने भएको छ । नेकपा (एमाले) नेतृ अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्रीबाट राजीनामापछि नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डे साँझसम्म मुख्यमन्त्रीमा नियुक्ति र सपथ हुने जनाएको हो ।
अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाक्यले बुधबारको प्रदेश सभाको बैठकमा राजीनामा घोषणासँगै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिनुभएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत प्राप्त गर्न पेस गर्नुभएको प्रस्तावमाथि दस्तखतसहितको मत विभाजनबाट प्रक्रिया अगाडि बढाउने कार्यतालिका रहेकोमा त्यसको सामना नगरी दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले दिउँसो ३ बजेसम्म दलहरुलाई सरकार गठनका लागि दावी पेस गर्न बुधबार साँझ नै आव्हान गर्नुभएको थियो ।
प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाका सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्ममा मुख्यमन्त्री नियुक्तिका लागि दावी पेस गर्न आव्हान गर्नुभएको छ ।
प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आव्हान भए लगत्तै नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे गठबन्धनको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीमा दावी गर्दै प्रदेश प्रमुखसमक्ष पुग्नुभएको थियो ।
गठबन्धनका दलहरु नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका ५९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षरसहित नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेले बुधबार साँझ प्रदेश प्रमुखसमक्ष दावी पेस गर्नुभएको छ ।
हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ । बहुमतसहित अर्का प्रदेश सभा सदस्यको दावी नभएमा प्रदेश प्रमुखले पाण्डेलाई बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त र सपथ गराइने प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसैबीच गठबन्धनका प्रस्तावित पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएसँगै बिहीबार चार सदस्यीय मन्त्रिमण्डल बन्नेभएको छ । पाण्डेले गठबन्धनमा रहेका दलहरुको सहभागितामा मन्त्रिमण्डल बन्ने जानकारी दिनुभएको छ । पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित गठबन्धनमा रहेका दलहरुको उपनेताहरु रहेको मन्त्रिमण्डल बन्ने छ । मन्त्रिमण्डलका नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तान, नेपाली काँग्रेसको कृष्णलाल भँडेल र नेकपा (एकीकृत समाजवादी) कृष्णप्रसाद खनाल शर्मा सहभागी हुनु हुनेछ । खनाल यसअघि शाक्य नेतृत्वको मन्त्रिमण्डलमा मन्त्री बनेको एक सातामा नै एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी रोज्दै मन्त्रीबाट राजीनामा दिनुभएको थियो । माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, काँग्रेसले भौतिक पूर्वाधार मन्त्रालय वा स्वास्थ्य मन्त्रालय र एकीकृत समाजवादीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने भएको छ ।

पाण्डेले तिहारपछि मन्त्रिमण्डल विस्तार हुने र गठबन्धनको सरकार भएकाले आवश्यकता अनुसार मन्त्रालय विभाजन गरी भागबण्डा गरिने बताउनुभयो । उहाँले मन्त्रिमण्डल विस्तारपछि विश्वासको मत लिने, सरकारको नीति तथा कार्यक्रम ल्याउने र तत्काल गर्नुपर्ने साझा कार्यक्रमहरु ल्याइने योजना रहेको सुनाउनुभयो । मुख्यमन्त्री शाक्यको राजीनामालाई कसरी लिनुभएको छ भन्ने प्रशनमा उहाँले गत भदौ २८ गते अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाक्यले ढिला गरी राजीनामा दिएको प्रतिक्रिया दिनुभयो ।

उता गठबन्धनमा रहेको नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मतदानको प्रक्रियामा नगएर मुख्यमन्त्री शाक्यको राजीनामा आउनुलाई सकारात्मक भएको प्रतिक्रिया दिँदै लामो राजनीतिक इतिहास भएको नेताले राजीनामा दिएर सहमतिको राजनीति र संस्कारको विकास गर्न खोजेको बताउनुभयो । प्रदेश सभामा प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य रहेको छन् ।
गठबन्धनद्वारा मुख्यमन्त्रीमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्