लक्ष्मण पौडेलगाेरखापत्र
भैरहवा । प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट झण्डै २४ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरीले मङ्गलबार र बुधबार गरी भन्सार छलेर नेपाल ल्याउँदै गरेको २३ लाख ८५ हजार रुपियाँ बरबरको अवैध सामान बरामद गरेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले भन्सार छलीको दुई लाख ५९ हजार रुपैयाँ बरबरको कपडा लगायतका सामान नियन्त्रणमा लिई भन्सार चलान गरेको छ । त्यस्तै, सिद्धार्थनगर नगरपालिका बाइपास रोडस्थित नेपालमा एक महिनादेखि अवैधरुपमा धनगढीको भित्री स्थान हुँदै प्रवेश गरेको यूपी २१ सिई ४०६४ नम्बरको १५ लाख बराबरको गाडी भारत प्रवेश गर्न लागेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।
इलाका प्रहरी कार्यालय मझगाँवा रुपन्देहीबाट खटिएको टोलीले लत्ताकपडा, चिनीलगायत दुई लाख १६ हजार रुपैयाँ बराबरको मालसामान, प्रहरी चौकी दुर्गौलिया र सीमा प्रहरी चौकी कदमहवाको टोलीले लत्ताकपडा, झोला र चिनी गरी दुई लाख ३८ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो ।
त्यस्तै, प्रहरी चौकी मैनीहवाबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ भगवानपुर चोकमा भारतबाट अवैधरुपमा ल्याउँदै गरेको एक लाख ८० हजार मूल्य बराबरको ६० पिस स्वीमिङ प्याड बरामद गरी भन्सार कार्यालय चलान गरेको छ ।
इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीबाट खटिएको टोलीले तिलोत्तमा–१५ पत्थरडाँडाबाट भारतबाट भन्सार छलेर ल्याइएको २५२ पिस लेडिज ब्रा, चकलेट, कुर्ता सुरुवाल, पनिर मसलालगायत ७५ हजार ६४२ रुपियाँ बराबरको सामान नियन्त्रणमा लिएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भारतीय नम्बरका दुईवटा मोटरसाईकलमा ल्याउँदै गरेको एक लाख ३२ हजार बराबरको अवैध चिनी बरामद गरी भन्सार कार्यालय पठाएको छ ।
सांकेतिक:तस्बिर