बेमौसमी वर्षाले लाखौंको क्षति, न कृषि नीति छ, न बीमा नै

बेमौसमी वर्षाले लाखौंको क्षति, न कृषि नीति छ, न बीमा नै

मनोज भट्टराई/गाेरखापत्र
ओखलढुंगा । बेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगेपछि ओखलढुङ्गाका किसानलाई समस्या भएको छ । दशैँ लगत्तै परेको झरीले धान, कोदो, फापर तथा दलहन बालीमा क्षति पुगेपछि किसान समस्यामा परेका हुन् ।

ओखलढुङ्गाका अधिकांश स्थानमा धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभरको तथ्याङ्क सङ्कलन गरेर प्रदेशको कृषि मन्त्रालयमा पठाइएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका बागवानी विकास अधिकृत टीका बानियाले बताउनुभयो । पसाएको धान र कोदो झरीका कारण ढलेपछि कुहिन थालेको छ । केन्द्रको तथ्यांक अनुसार जिल्लाभर चार हजार ४९३ हेक्टर क्षेत्रफलमा लगाइएको धान, कोदो तथा अन्य दलहनमा पूर्ण क्षति पुगेको छ ।

योमध्ये सबैभन्दा धेरै कोदोमा क्षति पुगेको छ । सात हजार ७५१ हेक्टरमा लगाइएको कोदोमध्ये एक हजार ३९५ हेक्टर क्षेत्रफलमा पूर्ण क्षति भएको बानीयाले बताउनुभयो । उहाँका अनुसार चार हजार ४०३ हेक्टरमा लगाइएको धानमध्ये ८८० हेक्टर धान ढलेर काम नलाग्ने अवस्थामा पुगेको छ । त्यस्तै, ९३ हेक्टरमा लगाइएको फापरमध्ये १८ हेक्टरमा पूर्ण क्षति पुर्याएको छ । जिल्लामा कुल छ हजार पाँचसय हेक्टर खेतमध्ये पानी कम परेकै कारण चार हजार ४९३ हेक्टर मात्रै रोपाइँ भएको थियो ।
रोपाइ नै कम भएको समयमा फेरि पानी र हावाहुरीले ढालेपछि थप क्षति हुँदा किसानलाई खाद्यान्न सङ्कट हुने चिन्ता छ ।

छैन बाली विमा
सरकारले बाली बीमा गराउने नीति ल्याए पनि ओखलढुङ्गामा कार्यान्वयनमा आउन सकेको छैन । बाली बीमाको विषयको सचेतना किसानसम्म पुग्न नसकेका कारण पनि जिल्लामा बाली बीमा हुन नसकेको हो । प्रक्रिया झन्झटिलो रहेकाले किसानले बीमा गर्न नचाहेको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत बानियाले बताउनुभयो । किसानलाई जति भने पनि बीमा नै नगर्ने बताउँदै उहाँले क्षतिपूर्ति कम आउने कहिलेकाँही मात्रै समस्या आउने भएकाले किसानको ध्यान नै नजाने गरेको उहाँको भनाइ छ ।
कार्यालयले भने बाली बीमाबारे कुनै कार्यक्रम नै ल्याएको छैन । सरकारले बाली विमाका लागि कम्पनीलाई तोके पनि किसानले बीमा गराउन नआएको आइएमई जनरल इन्स्योरेन्सका खुरहरि दाहालले जानकारी दिनुभयो । बाली विमा लागतमा हुने र क्षति हुँदा उत्पादनमा हुने भएकाले किसानले ध्यान नदिएका उहाँको भनाइ छ । अहिलेको नीति अनुसार खेती गर्दा लागेको बीउ, मल तथा जनशक्तिको हिसाबका आधारमा मात्रै क्षतिपूर्तिको व्यवस्था छ ।

थोरै लागतको भए पनि हावापानी र असिनाले उत्पादन भएको लाखौंको अन्न क्षति हुने गरेको छ । बीमा गर्दा उत्पादनको क्षतिका आधारमा हुनुपर्ने किसानको माग छ । राष्ट्रिय कृषक महासङ्घले सरकारसँग हाल उत्पादनमा भएको अन्नको क्षतिपूर्ति दिन र बीमा नीति परिमार्जन गरि लागत हैन क्षतिका आधारमा विमाको भूक्तानी गर्ने नीति ल्याउन पैरवी गरिरहेको महासङ्घका कार्यक्रम अधिकृत सरस्वती कट्वालले बताउनुभयो । उत्पादनका आधारमा हुने क्षतिको विमा गर्ने नीति ल्याएर बाली विमा प्रभावकारी बनाएमा बीमाप्रति किसानको आकर्षण बढ्ने अखिल नेपाल किसान महासङ्घका नेता शारदा निरौला बताउनुहुन्छ ।

स्थानीय सरकार रमिते
स्थानीय सरकारले भने किसानलाई राहत तथा क्षतिपूर्ति दिने गरी कृषि नीति बनाएका छैनन् । उनीहरु गुनासो सुनेर मात्रै किसानलाई फर्काउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्