विराटनगरको महेन्द्र मोरङ क्याम्पस : विद्यार्थीको परीक्षामा प्राध्यापकको रिस, २५ जना फेल

विराटनगरको महेन्द्र मोरङ क्याम्पस : विद्यार्थीको परीक्षामा प्राध्यापकको रिस, २५ जना फेल

विराटनगर । प्राध्यापकको क्रोधले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत २५ जना विद्यार्थीहरु २४ पुर्णाङ्कको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका छन् ।

क्याम्पसको बिबिएम संकायमा अध्ययनरत २५ जना विद्यार्थीहरु तथ्याङ्क शास्त्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका हुन् । बिबिएम संकायको दुवै सेक्सनमा कक्षा लिन नपाउँदा प्राध्यापक शिवचन्द्र चौधरीले नियोजित रुपमा विद्यार्थीहरुलाई प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण बनाएका हुन् । क्याम्पस प्रशासनले दुवै सेक्सनमा कक्षा लिने अनुमति नदिएपछि प्राध्यापक चौधरीले सेक्सन ए का २५ जना विद्यार्थीहरुलाई परीक्षामा फेल गरेको उनीहरुले बताएका छन् । यसअघि बसेको विद्यार्थी, विद्यार्थी संगठन र क्याम्पस प्रशासन सम्मिलित वार्तामा प्राध्यापक चौधरीले आफ्नो गल्ती स्वीकार गरेका छन् ।

प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीहरु हाल बिबिएम संकायको पाचौं समेस्टरमा अध्ययनरत छन् । ४ बर्षे बिबिएम प्रोगामको तेश्रो समेस्टरमा गतवर्ष उनीहरुले तथ्याङ्क शास्त्रको प्रयोगात्मक परीक्षा दिएका थिए । सेक्सन ए बाट २९ र सेक्सन बी बाट २६ गरि कुल ५५ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । तर, यही भदौ १ गते आएको नतिजा अनुसार सेक्सन ए बाट मात्र ४ जना विद्यार्थीहरु उक्त परीक्षामा उत्तीर्ण भएका छन् । पहिलो समेस्टरमा टप गरेका विद्यार्थीहरु समेत प्रयोगात्मक परीक्षामा फेल भएका छन् । क्याम्पसका प्राध्यापक शिवचन्द्र चौधरीले दुवै सेक्सनमा पढाउन नपाएको रिस विद्यार्थीहरुको परीक्षामा पोखेको उनीहरुको आरोप छ । ‘चौधरी सरले सेक्सन बी मा पढाउनु हुन्थ्यो । उहाँले सेक्सन ए मा पनि पढाउन पाउनुपर्ने माग राख्नुभएको थियो । तर, हामीले दिएनौं,’ बिबिएमकी छात्रा दिपिका भट्टराईले भनिन, ‘क्याम्पसबाट समेत अनुमति नपाएपछि उहाँले सेक्सन ए का विद्यार्थीलाई फेल गर्नुभयो ।’

भदौ १ गतेको नतिजा अनुसार तथ्याङ्कशास्त्रको उक्त प्रयोगात्मक परीक्षामा बिबिएमको सेक्सन बी बाट मात्र ३ जना विद्यार्थीहरु अनुत्तीर्ण भएका छन् । चौधरी पनि सेक्सन बी कै प्राध्यापक हुन् । गतवर्ष भएको परीक्षाको प्रश्नपत्र पनि उनैले तयार पारेका थिए । तर, विद्यार्थीहरुको उत्तरपुस्तिका चेकजाँच गर्ने क्रममा उनले सेक्सन ए का विद्यार्थीहरुलाई कम अङ्क दिएर नियोजित रुपमा अनुत्तीर्ण बनाएको विद्यार्थीहरुको आरोप छ । हाल विद्यार्थीहरुले भने प्राध्यापक चौधरीको राजिनामा सहित बिबिएम संकायको व्यवस्थापन समिति समेत परिवर्तन हुनुपर्ने माग गरेका छन् । क्याम्पस प्रशासनले हाल प्राध्यापक चौधरीलाई बिबिएम संकायमा कक्षा लिन रोक लगाएको छ । तर, उनले अरु संकायमा भने कक्षा लिईरहेका छन् । बिबिएमकी छात्रा कृपा कटवालले भनिन, ‘हामीलाई त्यो पनि मान्य छैन् । उहाँले कुनै संकायमा कक्षा लिन पाउनुहुन्न ।’

विद्यार्थीहरुको माग सम्बोधन गर्दै क्याम्पस प्रशासनले हाल बिबिएम संकायको व्यवस्थापन समिति परिवर्तन गर्ने निर्णय गरेको छ । क्याम्पसले यसअघिको ५ सदस्यीय व्यवस्थापन समितिलाई विघटन गरि ३ सदस्यीय व्यवस्थापन समिति निर्माण गर्ने निर्णय गरेको क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले बताए । यसअघि व्यवस्थापन समितिको अध्यक्ष भने ताराप्रसाद यादव थिए । उनकै पालादेखि क्याम्पसमा यो समस्या झन जटिल बन्दै गएको हो ।

प्रयोगात्मक परीक्षाको नतिजा चित्तबुझ्दो नभएपछि भदौ १५ गते क्याम्पसले विद्यार्थीहरुको उत्तरपुस्तिका पुनः चेकजाँचका लागि काठमाण्डौ पठाएको छ । तर, उत्तरपुस्तिकाहरु हालसम्म उपलब्ध भईसकेका छैनन् । गतवर्षको प्रयोगात्मकमा अनुत्तीर्ण भएका विद्यार्थीहरुले यसपटक पुनः पुरक दिनुपर्ने अवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्