गुन्डा नाईके गिरीलाई रातारात विराटनगरस्थित मोरङ कारागार ल्याईयो

गुन्डा नाईके गिरीलाई रातारात विराटनगरस्थित मोरङ कारागार ल्याईयो

विराटनगर । सरुवामा परेका आठ जनामध्ये दुई जना कैदीलाई सिन्धुली लगेर नामुद अपराधी एवम् ‘गुन्डानाइके’ अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएको छ ।

विराटनगर घर भएका अपराधिक पृष्ठभूमिका गिरीलाई सबैतिरबाट विरोध हुँदाहुँदै र कैदीबन्दीले असुरक्षित महसुस गर्दागर्दै रातारात मोरङ ल्याइएको हो । काङ्गे्रसमा आवद्ध भएर गुन्डागर्दी, चन्दा र फिरौती असुली तथा जघन्य प्रकृतिका अपराधमा संलग्न हुँदै आएका उनलाई काङ्ग्रेस नेताकै दबाब र सरकारको ठाडो निर्देशन एवम् संरक्षणमा मोरङ ल्याएर कारागार प्रवेश गराइयो । विराटनगर ल्याएर आज (बिहीबार) बिहानका राति ४ बजेतिर उनलाई कारागारभित्र छिराइएको हो ।

अदालतबाट दोषी ठहर भएपछि गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘खुङ्खार’ अपराधी हुन् । मोरङ कारागारमा उनले प्रवेश पाएपछि अधिकांश कैदीबन्दीले असुरक्षित महसुस गरिरहेका छन् । चौतर्फी रूपमा भइरहेको विरोधमा बेवास्ता गर्दै गिरीलाई कारागार छिराएपछि कैदीबन्दीबीचमा आतङ्क फैलिएको छ ।

विराटनगरकै बासिन्दा गिरीलाई ल्याउने बाटो फराकिलो बनाउन बुधबार कारागार व्यवस्थापन विभागले मोरङ कारागारबाट चौकीदारसहित आठ जना कैदीबन्दीको सिन्धुली सरुवा गरेको थियो । चौकीदार कात्तिक कामत, सिटी नाइके युवराज परियार, वडा नाइके रितेश कामतसहित मौसम चौधरी, विजय कामत, विकास महतो, लोकेन्द्र परियार र देवराज मण्डलसमेतका कैदीलाई सिन्धुली कारागार सरुवा गरिएको हो ।

सरुवामा परेकालाई निकाल्न खोज्दा मोरङ कारागारको अवस्था बुधबारसाँझ तनावपूर्ण बन्यो । ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर आठ जनालाई निकाल्न खोज्दा विरोधमा उत्रिएका कैदीबन्दीले कारागारमा आगजनी गर्ने धम्की दिएका थिए । त्यसपछि प्रहरी टोली फिर्ता भएको थियो । राति १० बजेतिर पुनः गएको प्रहरी टोलीले सरुवामा परेका चौकीदार कामत र सिटी नाइके परियारलाई मोरङबाट निकालेर सिन्धुली कारागार लगेको छ ।

सरुवामा परेका अन्य छ जनालाई कहिले निकालिने हो भन्ने बारेमा थाहा हुन नसकेको कारागार स्रोतले बतायो । राजनैतिक संरक्षण एवम् आवरणमा चर्चित गुन्डा तथा अपराधीको छवि बनाएका गिरीलाई सप्तरीबाट मोरङ ल्याइएको छ । त्यसअघि उनलाई काठमाडौंको डिल्ली बजार कारागारमा राखिएको थियो ।

डिल्ली बजार लैजानुअघि गिरी मोरङ कारागारकै चौकीदार थिए । चौकीदार हुँदा गुन्डागर्दी, असुली र फिरौतीको धन्दा चलाउँदै यातना दिएर कैदीबन्दीमाथि चरम शोषण गरेको पाइएपछि उनलाई २०७४ चैत २३ गते डिल्ली बजार स्थानान्तरण गरिएको थियो ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेसँगै काङ्ग्रेस नेताको दबाब र गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा गत भदौ १७ गते गिरीलाई डिल्ली बजारबाट मोरङ सरुवा गरियो । कैदीबन्दी र उनीहरुका आफन्तले विरोध गरेपछि उनलाई तत्काल मोरङ ल्याइएन । तर मोरङ कारागारका चौकीदार नवीन राईलाई असोज १८ गते झुम्का कारागार स्थानान्तरण गरेर किरण गुरुङलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिँदै उनका लागि कारागारमा स्थान फराकिलो बनाइएको थियो ।

त्यसपछि कात्तिक १६ गते विराटनगर ल्याइए पनि चौतर्फी विरोध भएपछि उनले मोरङ कारागारमा प्रवेश पाउन सकेनन् । त्यसपछि सप्तरी कारागार लगिएका गिरीको गत शुक्रबार पुनः मोरङ सरुवा गरिएको थियो । चौकीदार गुरुङको समूह आफ्नो विरोधमा रहेको थाहा पाएपछि गिरीले योजना बनाएर कात्तिक २४ गते मोरङ कारागारमा झडप गराएका थिए ।

झडपमा गुरुङसहित छ जना कैदीबन्दी घाइते भए । घटनापछि उनको विपक्षमा रहेका १४ जना नाइके तथा भाइनाइके कैदीबन्दीलाई झुम्का, झापा र इलाम कारागारमा स्थानान्तरण गरेर कात्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइयो । कामत पहिले गिरी पक्षधर हुन् ।

चौकीदार बनेपछि उनी पनि गिरीको विरोधमा देखिए । उनलाई मोरङ ल्याउन अवरोध खडा गरेपछि कामतसहित आठ जनाको सरुवा गरिएको स्रोतले बतायो । कारागारभित्रका अधिकांश कैदीबन्दी गिरीको विपक्षमा रहे पनि राजनैतिक दबाब एवम् सरकारको चेपुवामा परेको कारागार प्रशासन, स्थानीय प्रशासन र कारागार व्यवस्थापन विभाग उनकै पक्षमा निर्णय लिनुपर्ने अवस्थामा पुगेका हुन् ।

आफूहरु असुरक्षित हुने, आर्थिक शोषणमा पर्ने र गिरी आएमा चरम यातना भोग्नुपर्ने भन्दै नौ सय जना कैदीबन्दीले उनलाई मोरङ ल्याउन नहुने मागसहितको निवेदन जिल्ला प्रशासन र कारागार व्यवस्थापन विभागमा दिएका थिए । तर त्यसको सुनुवाइ नगरिकन ठूलो सङ्ख्याका कैदीबन्दी विरोधमा हुँदाहुँदै सरकारबाट संरक्षित ‘गुन्डानाइके’ गिरीलाई मोरङ कारागार ल्याइछाडिएको छ ।

कारागार प्रवेशसँगै अब उनले चौकीदारको जिम्मेवारी पाउने बताइएको छ । तर असन्तुष्ट रहेका कैदीबन्दीले लफडा गरेमा कारागारभित्रको अवस्था असामान्य बन्नसक्ने स्रोतले बतायो । असुरक्षित महसुस गरिरहेका कैदीबन्दी गिरीको प्रवेशसँगै आतङ्कित पनि भएका छन् ।

गिरीलाई बाटो फराकिलो बनाउनकै लागि उनकै ‘सेटिङ’मा महेन्द्रसिंह खड्कालाई जेलर बनाएर सरकारले मोरङ पठाएको बताइन्छ । नेपाल सरकारका उपसचिव खड्का तीन दिनअघि मात्रै कारागार हाजिर भएका हुन् । त्यसअघि कारागारमा निमित्त जेलर नायव सुब्बा रामप्रसाद पोखरेल थिए ।

कारागार हाजिर हुनसाथ गिरीको विरोधमा रहेका आठ जना कैदीबन्दीको सरुवाको सिफारिस खड्काले गरेका छन् । पहिलो काम नै सरुवाको सिफारिस हुनु र गिरीलाई ल्याउन अनेक जोडबल गर्नुले पनि उनी गिरीको संरक्षणमा रहेको प्रष्ट भएको कारागार स्रोतले बतायो । यस विषयमा बुझ्न खोज्दा जेलर खड्काले फोन उठाएनन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले भने कारागार प्रशासन र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा कैदीको सरुवा गरिएको बताए । गिरीलाई मोरङ पठाउने विषयमा कुनै निर्णय नभएको उनले बताइरहेका बेला गिरीलाई भने रातारात ‘सुटुक्क’ मोरङ ल्याइएको हो । गिरीलाई मोरङ ल्याउन दाहाल र मोरङका जेलर खड्काको महत्वपूर्ण भूमिका रहेको बताइन्छ ।

स्रोतका अनुसार दिउँसो ल्याउँदा कैदीबन्दी र उनीहरुका आफन्तले अवरोध गर्ने अवस्था आएपछि रातको समय पारेर गिरीलाई मोरङ ल्याइएको हो । ‘गुन्डानाइके’लाई तनावपूर्ण अवस्थामा कारागारभित्र प्रवेश गराइएकाले त्यसको नतिजा राम्रो आउने सम्भावना नरहेको स्रोतले बतायो ।

अधिकांश कैदीबन्दीले गिरीलाई चौकीदार बनाइएमा उनको मातहतमा रहन नसकिने बताएका छन् । उनीहरुले गिरीसँग बस्न नसकिने भन्दै आफूहरुको पनि सरुवाको माग गरिरहेका छन् । गिरीले चौकीदारको जिम्मेवारी पाउँदा ज्यान नै जोखिममा पर्ने भन्दै कैदीबन्दी डराइरहेका हुन् ।

गिरीलाई मोरङ ल्याउनलाई कम्मर कसेर लागेका काङ्ग्रेसका कार्यकर्ताहरुले गत आइतबार र सोमबार कारागारअगाडि प्रदर्शन गरेका थिए । त्यसको नेतृत्व काङ्ग्रेस विराटनगर सहसचिव सचिन पोखरेलले गरे । प्रदर्शनमा उत्रिएकाले गिरीको पक्ष र चौकीदार कामतको विरुद्धमा नाराबाजी गरेका थिए । त्यसलगत्तै चौकीदार कामतसहित आठ जना कैदी सरुवामा परेका हुन् ।

मोरङ कारागार चौकीदारका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ । कारागारभित्र दैनिक उपभोग्य वस्तु, टेलिफोन र क्यान्टिनमा अत्याधिक मूल्य तिर्नुपर्ने कैदीबन्दीको बाध्यता छ । त्यहाँको आम्दानीमा चौकीदारले हालीमुहाली गरिरहेका हुन्छन् । तर विरोध गर्नबाट कैदीबन्दीलाई रोक लगाउने गरिएको छ ।

मोरङ कारागारको क्षमता दुई सय ५० जनाको हो । अहिले झन्डै चार गुणा बढी कैदीबन्दी छन् । कोचाकोच गरेर नौ सय ५० जनाभन्दा बढी कैदीबन्दीलाई राखिएको छ ।

कोशी अनलाईनबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्