विराटनगरका उद्योगीले गभर्नरलाई बुझाए ज्ञापनपत्र, आयातमा कडाईको स्वागत

विराटनगरका उद्योगीले गभर्नरलाई बुझाए ज्ञापनपत्र, आयातमा कडाईको स्वागत

विराटनगर । विराटनगरका उद्योगीले नेपाल राष्ट्र बैंकले बिलासी वस्तुको आयातमा गरेको कडाईलाई स्वागत गर्दै औद्योगिक मालवस्तु आयातमा तरलता अभावको प्रभाव कम गरिदिन गभर्नरसँग आग्रह गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल नेतृत्वको टोलिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई काठमाण्डौंमा भेटेर ज्ञापनपत्र बुझाउँदै पछिल्लो निर्णयको स्वागत गरेका हुन् ।

संगठनका अध्यक्ष प्याकुरेल नेतृत्वको टोलिले विलासीका वस्तुहरुको आयातमा प्रतीतपत्र खोल्दा ५० देखि शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले स्वदेशी उत्पादनलाई बढावा दिने भन्दै राष्ट्र बैंकको निर्णय स्वागतयोग्य रहेको धारणा राखेको छ । उद्योग संगठन मोरङले स्वदेशी उतपादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्न चालेको कदमले औद्योगिक कच्चा तथा मिलमेशीनरीहरुको आयातमा सहजीकरण पुग्ने धारणा समेत सार्वजानिक गरेको छ । तर, बिलासिताका वस्तुहरुको आयातमा एकाधिकार हुनसक्नेतर्फ समेत सचेत हुनुपर्ने संगठनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा विदेशी बिनिमय कारोबार गर्न इजाजत पाएका संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै आयातका लागि खोलिने प्रतीतपत्र (एलसी) मूल्यको ५० देखि शतप्रतिशतसम्म रकम (मार्जिन) जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो । यसले बिलासीका वस्तुको आयातमा असहज भएपनि औद्योगिक क्षेत्रलाई असर नपुग्ने उद्योगीहरुको धारणा छ ।
संगठनका अध्यक्ष प्याकुरेलका अनुसार मंगलबार काठमाण्डौं पुगेको उद्योगीहरुको टोलिले बैंक तथा वित्तिय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको गुनासो समेत राखेको थियो । उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउँदै वित्तिय क्षेत्रमा देखापरेको तरलताको अभावलाई यथाशक्य समाधान गरि उद्योग व्यवसाय सञ्चालनमा सहजिकरणका लागी अनुरोध गरेको हो ।

तरलताको चरम अभावभएको कारण बैंक तथा वित्तिय संस्थाहरुले केही समय देखि औद्योगिक कच्चापदार्थ लगायतका वस्तुको आयातका लागि प्रतीतपत्र (एलसी) खोल्न कठिनाई भईरहेको विषय गभर्नरसँग जानकारी गराइएको हो । उद्योगीका सुझाव सुनिसकेपछि गर्भनर अधिकारीले उत्पादनमुलक उद्योगहरुलाई आवश्यक पर्ने औद्योगिक कच्चा पदार्थ लगायतका वस्तुको नियमित आपूर्तिका लागी प्रतितपत्र खोल्न कुनै पनि कठिनाई हुननदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
संगठनको प्रतिनिधिमण्डलमा बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, उपाध्यक्षद्धय राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुशिल रिजाल, सल्लाहकार सोम अधिकारीलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्