विराटनगरको आईसीपी परिसरमा प्रादेशिक विपद् व्यवस्थापन केन्द्र स्थापना गरिदै

विराटनगरको आईसीपी परिसरमा प्रादेशिक विपद् व्यवस्थापन केन्द्र स्थापना गरिदै

विराटनगर । विराटनगर–१८ स्थित एकिकृत भन्सार जाँच चौकी परिसरमा प्रादेशिक विपद् व्यवस्थापन भण्डारण केन्द्र स्थापनाको काम सुरु गरिएको छ ।

विपद्को बेला अति–आवश्यकीय सामाग्रीको एकिकृत भण्डारण गर्ने उद्देश्यसहित मानविय सेवा केन्द्रको रुपमा विश्व खाद्य कार्यक्रम, नेपालले व्यवस्थापन केन्द्र स्थापना गर्न संरचना निर्माण सुरु गरेको हो । विश्व खाद्य कार्यक्रम, नेपाल सञ्चार अधिकृत मनिका उपाध्यायका अनुसार तीन करोडको लागतमा संरचना तयार पारिनेछ । संरचना तयार गर्न बेलायत सरकारले सहयोग गरेको हो । जसमा विपद्का बेला अतिआवश्यकीय सामाग्रीहरु भण्डारण गरेर राखिने छ । चार हजार वर्गमिटर क्षेत्रफलमा स्थायी संरचना तयार पारेर त्यसभित्र ६ वटा कन्टेनरमा सामाग्री भण्डारण गरिने अधिकृत उपाध्यायले जानकारी दिनुभयो । ‘छ वटा कन्टेनरमा एक हजार ५०० मेट्रिकटन सामाग्री भण्डारण गरिनेछ’ उपाध्यायले भन्नुभयो–अतिआवश्यकीय सामाग्री विपद्सँगै प्रयोगमा ल्याउन सहज होस् भन्ने उद्देश्य अनुरुप काम अगाडी बढाइएको छ ।

भण्डारण केन्द्रको संरचना निर्माणको काम सन् २०२२ जुनसम्ममा सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरिएको हो । नेपाल सरकार गृहमन्त्रालय अन्तर्गत प्रादेशिक विपद् व्यवस्थापन भण्डारण केन्द्र निर्माण गर्ने निर्णय सन् २०१५ मा भएको थियो । काठमाण्डौंमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिक, नेपालगञ्ज, धनगढी र बिरगञ्जमा समेत प्रादेशिक मानविय सेवा केन्द्र स्थापना गरिएको अधिकृत उपाध्यायले जानकारी दिनुभयो । मानवीय सेवा केन्द्रमा सरकारले खरिद गरेका सामाग्री, दाताले सहयोग प्रयोजनार्थ उपलब्ध गराएका सामाग्री राखिने छ ।

यस्ता वस्तुको सुरक्षालाई ख्याल गर्दै विराटनगरमा आईसीपी क्षेत्रमा भण्डारण केन्द्र स्थापना गरिने भएको हो । भन्सार बिन्दुमै संरचना तयार गरेर सामाग्री भण्डारण गर्दा अतिआवश्यकीय समयमा त्यसको प्रयोग सहज हुने दावी गरिएको छ । प्रदेशस्तरको मानवीय सेवा केन्द्र सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिइने उपाध्यायले जानकारी दिनुभयो । यसको निर्माणसँगै व्यवस्थापन र सञ्चालन कार्यविधी तयार हुनेछ, उपाध्यायले भन्नुभयो–त्यसपछि सरकारी निकायमार्फत सञ्चालन हुनेछ ।

विपद्को घटना हुनासाथ त्यस्ता घटनाबाट असर पर्नसक्ने क्षेत्रमा रहेका व्यक्तिको खोज तथा उद्धारमा प्रयोग हुने सामाग्री, प्रभावित बासिन्दालाई राहत उपलब्ध गराउन आवश्यक पर्ने सामाग्री भण्डारण केन्द्रमा राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्