विराटनगर आईसीपीमा थप पूर्वाधार विस्तार गरिदैं

विराटनगर आईसीपीमा थप पूर्वाधार विस्तार गरिदैं

विराटनगर । एकिकृत जाँच चौकी विराटनगरमा थप पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसीपीमा सञ्चालित भन्सारको कामलाई सहज बनाउन परिसरमा १५ करोड लागतको नयाँ संरचना निर्माण थालेको हो ।

भन्सारमा जाँचपास घर, पार्किङ्गस्थल, वेयर हाउससहितका संरचनाको काम थालिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जियिनर शुभकान्त राउतले जानकारी दिनुभयो ।
मालवहाक सवारी पार्किङ अभाव हुँदा आईसीपी परिसरको सडकमै पार्किङ्ग गर्नुपर्ने स्थिति छ । अभाव संरचना निर्माण गरेर आईसीपीमा सञ्चालित भन्सारको क्षमता विस्तारको काम धमाधम अगाडी बढाइएको हो । इन्जिनियर राउतका अनुसार आवश्यकताका आधारमा आठ हजार वर्गमिटरको ब्लक पार्किङस्थल, ४८÷२४ मिटरको वेयर हाउस, एघार हजार वर्गमिटरको अस्थायी पार्किङ्गस्थल, ४०÷११ मिटरको जाँचपास घर निर्माणको काम भईरहेको छ । वेयर हाउस र गोदामका लागि १२ करोड र जाँचपास र अस्थायी पार्किङस्थलको लागि तीन करोड रुपिँया लागत रहेको छ ।

२०७६ साल माघ २ गते उद्घाटन भएको आईसीपी विराटनगरमा जाँचपास घरको अभाव रहँदै आएको छ । आवश्यक पर्ने संरचना अभाव हुँदा समस्या पर्दै आएको भन्सार प्रमुख ताराप्रसाद सापकोटाले बताउनुभयो । उहाँले आईसीपी क्षेत्रमा पाँच प्रकारका जाँचपास घर आवश्यक हुने बताउनुभयो । त्यसमध्ये भारतमा हुने निकासी–पैठारी (स्थानीय), तेस्रो मुलुकबाट हुने पैठारी–निकासी, कार्गो रेलबाट आयात हुने सामान जाँचपास र जफत गरिएका सामानको जाँचपास गर्ने घरको जरुरी रहेको उहाँले बताउनुभयो । अहिले आईसीपी क्षेत्रमा दुईवटा मात्रै जाँचपास घर रहेका छन् ।

भन्सार विभागले देशभरका १२ वटा भन्सार कार्यालय विस्तार र स्तरोन्नतीको पाँचवर्षे कार्ययोजना बनाउन स्थानीय भन्सार प्रमुखको नेतृत्वमा कार्यदल समेत गठन गरेको प्रमुख भन्सार अधिकृत सापकोटाले जानकारी दिनुभयो । त्यसमा विराटनगर भन्सार कार्यालय समेत छ । थप आवश्यक संरचना निर्माणको पाँचवर्षे कार्ययोजना बनाएर अगाडी बढाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो । उहाँले आईसीपी क्षेत्रमा ल्याब नहुँदा सबैभन्दा धेरै समस्या भईरहेको बताउँदै आगामी वर्ष ल्याब स्थापनालाई प्राथमिकतामा राखिने दावी गर्नुभयो । त्यसैगरी भन्सार क्षेत्रमै पेट्रोलपम्प राख्ने योजना समेत रहेको सापकोटाले बताउनुभयो । उहाँले प्रशस्त जग्गा भएपनि संरचना अभावमा न्यून उपयोग भएको बताउनुभयो ।

इन्टरमोडलले १२९ बिघा क्षेत्रफलमा रहेको आईसीपी सञ्चालनका लागि ट्रान्स नेपालसँग सम्झौता गरेको छ । पाँचवर्षे सम्झौता अनुसार ट्रान्स नेपालले ३५ करोड रुपिँयामा ठेक्का लिएको निर्देशक लक्ष्मी सुब्बाले जानकारी दिनुभयो । ट्रान्स नेपालले समेत आईसीपी क्षेत्रमा संरचना अभाव हुँदा व्यापार सहजीकरणमा समस्या भईरहेको गुनासो गर्दै आएको छ ।
दशवर्ष अगाडीको आवश्यकतालाई हेरेर निर्माण गरिएको आईसीपी क्षेत्र अहिलेको आवश्यकता अनुसार साँघुरो भएको छ । निर्यात र आयातका लागि छुट्याईएको पार्किङ तथा प्रोसेसिङ यार्डमा तालमेल नदेखिँदा मालसमान बोकेर नेपाल आएका मालवहाकको जामले हैरानी पारेको निर्देशक सुब्बाले गुनासो गर्नुभयो । आईसीपी क्षेत्रमा आयात र निर्यातका सामान बोकेका १२० मालवहाक मात्रै अट्नसक्ने पार्किङस्थल रहेको छ । दैनिक २५० वटासम्म मालवहाक सवारी आईसीपी क्षेत्र प्रवेश गरेर भन्सार जाँचपास गराउँदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्