विराटनगरस्थित सप्तकोशी बैंकमा घोटाला गर्न पारिवारिक सञ्जाल

विराटनगरस्थित सप्तकोशी बैंकमा घोटाला गर्न पारिवारिक सञ्जाल

विराटनगर । सप्तकोसी डेभलपमेन्ट बैंकमा परिवारिक सञ्जाल तयार गरेर आर्थिक अपचलन भएको आशंका गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीकै योजनामा १६ करोड रुपैँया अपचलन भएको हुनसक्ने आशंका बढ्दै गएको हो ।

विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुखका हिमाल भट्टराई अहिले आर्थिक अपचलन आरोपमा प्रहरी नियन्त्रणमा छन् । उनी सिईओ सुवेदीका आफ्ना फुपूका छोरा हुन् । बैंक भित्र मिलेमतोमा गरिएको अपचलन बारे अहिले मामा–फुपूका परिवारबीच आरोप–प्रत्यारोप सुरु भएको छ ।
यस विषयलाई बैंकको कार्यकारी बोर्डले समेत गम्भीर रुपमा लिएर आन्तरिक छानविन गरिएको छ । प्रहरी नियन्त्रणमा रहेका भट्टराई विरुद्ध बैंकिङ्ग कसुरमा मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरिरहेको छ । संभवतः आजै मुद्दाको म्याद थप गरेर थप अनुसन्धान गर्नेछौं ।

तर, पक्राउ परेको भट्टराई मात्रै नभई सुवेदीले आफ्ना ठूलाबाकी छोरी झापा, गौरादहकी बबिता सुवेदीका नाममा फर्जी खाता खोल्न भट्टराईलाई लगाएर त्यस एकाउन्टमा रकम जम्मा गर्ने र झिक्न लगाउने गरेको आरोप भट्टराई परिवारले लगाएका छन् । बबिताको खातामा १४ करोड रुपिँया पैसा पठाएर त्यहाँबाट झिकेको देखिएको छ ।
आईएमई, प्रभु मनी ट्रान्सफर, सिटी, आइपे, संसारा र हिमाल रेमिटबाट सन् २०१६ देखि २०२१ अगस्ट २ सम्ममा १४ करोडभन्दा बढी रकम पठाइएको छ । बबिता सुवेदीको नाममा गएको रकम भट्टराईले गैरकानुनी ढंगले निकाल्ने र सुवेदी तथा बैंकमा भएका आफन्तले बाँड्ने गरेको दावी गर्दै राष्ट्र बैंकका उजुरी परेपछि अहिले छानविनको प्रक्रियामा रहेको छ ।

बैंकमा रहेका भट्टराईका विभिन्न पाँच वटा खातामा पनि रेमिट्यान्सबाट आएको भन्दै १ करोड रुपैयाँभन्दा बढी रकम निकालिएको छ । स्टेटमेन्ट रुजु गर्दा दुवै जनाको बैंक खातामा आएको रकम रेमिट्यान्स पेड भएको उल्लेख छ ।
रेमिट्यान्सबाट कुनै किसिमको रकम नआएको बैंकका कर्मचारी बताउँछन् । सीईओ सुवेदीको भाउजू भगवती सुवेदीको बचत खातामा पनि विभिन्न मितिमा ठूलो रकम जम्मा भएको छ । उक्त खाता सीईओ सुवेदी आफैंले फर्जी रूपमा खोली सञ्चालन गरेको आरोप छ ।
सुवेदीले आफ्ना साला साजन पोखरेल, जेठी सासू बानी पोखरेल र बैंकका एचआर प्रमुख परमा काफ्ले खातामा पनि अस्वाभाविक रूपमा रकम जम्मा गरेर निकालेको उजुरीमा उल्लेख गरिएको छ । यी खाता पनि सुवेदी आफैं वा आफ्ना मान्छेलाई सञ्चालन गर्न लगाएर बैंकको रकम हिनामिना गरेको आरोप छ । बैंकको रकम हिनामिनामा बैंकका वित्तीय प्रमुख देवीप्रसाद भण्डारी, अपरेसनल प्रमुख अमित थापा मगर, जीडीएस प्रमुख होमप्रसाद पौडेल र क्रेडिट प्रमुख विदुर पोखरेलको समेत संलग्नता रहेको राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख गरिएको छ ।
क्रेडिट प्रमुख विदुर सीईओ सुवेदीका मामाका छोरा हुन् । वित्तीय प्रमुख भण्डारी र सीईओ सुवेदी यसअघि एक वित्तीय संस्थामा लामो समय सँगै काम गरेका निकट हुन् ।

काबेली विकास बैंक र सप्तकोसी डेभलपमेन्ट विकास बैंक २०५७ जेठ २२ मा मर्ज भएर सप्तकोसी डेभलपमेन्ट विकास बैंकका नामबाट वित्तीय कारोबार हुँदै आएको छ । दुई वटा बैंक गाभिएपछि बैंकका सञ्चालक समितिका तत्कालीन अध्यक्ष तारानाथ निरौला थिए ।
काबेली विकास बैंकको टिम र सप्तकोशीको टिमबीच बैंकको कारोबार व्यवस्थित बनाउने विषयमा विवाद थियो । त्यहि विवादका कारण बैंक भित्रको समस्या बाहिर आएको अनुमान गरिएको छ ।
अनियमितता बढ्दै गएपछि बैंककै एक कर्मचारीले नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभागमा बेनामे उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा राष्ट्र बैंकले पत्राचार गरेपछि मात्रै बैंकको नाफा रकम रेमिट्यान्सबाट आएको भन्दै हिनामिना भएको खुलेको अध्यक्ष डा.अर्जुन बरालले बताउनुभयो ।

उहाँले बैंक भित्र आर्थिक अपारदर्शिता सिर्जना गर्ने सबैमाथि अनुसन्धान गरेर कारवाही प्रक्रिया बढाईने र असुल उपर गरिने बताउनुभयो । उहाँले प्रहरीले यस विषयमा गम्भीर अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले बैंकिङ्ग कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान गर्ने क्रममा संलग्न देखिएका अन्य समेत तानिन सक्ने बताउनु भयो ।
बैंक प्रशासनले भने मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै बैंकको सम्पतिमाथि नोक्सान पु¥याउने विरुद्ध कानुनी कारवाही गरि असुल उपर हुने दावी गरेको छ । रेमिट्यान्स वापतको रकम मात्रै हिनामिना भएकोले निक्षेपकर्ताले नोक्सान बेहोर्नु नपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्