इटहरी । सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादीले संगठन निमार्णको क्रममा महिला–महिलामा नेकपा एस अभियान मार्फत संगठन विस्तार थालेको छ ।
पुर्वक्षेत्रको व्यस्त शहरका रुपमा विकसित हुँदै गएको इटहरीमा नेकपा एसले एक सातादेखि न्युनतम ५ हजार महिलालाई संगठित गर्न महिला–महिलामा नेकपा एस अभियान सञ्चालनमा ल्याएको हो । नेकपा एसका इटहरी इन्चार्ज केवल फुयाँलले इटहरीमा शिक्षित, सचेत र जागरुक महिलाहरुको संख्या अधिक रहेकाले महिला नेतृत्वको विकास गर्ने उद्देश्य सहित उक्त अभियान सञ्चालनमा ल्याईएको बताए । पछिल्लो हप्तादिनमा ७ भन्दा बढी वडाका टोल बस्तीमा १ हजार भन्दाबढीको संख्यामा महिलाहरु पार्टी संगठन र जनवर्गीय संगठनमा संगठित भएको उनले जानकारी दिए । महिला दिदीबहिनीहरुमा नेतृत्व क्षमता अभिवृद्धिका साथै राजनितिमा सहभागिता जनाउन आवश्यक प्रशिक्षण समेत दिने गरिएको उनको भनाई छ ।
नेकपा एसले भने महिलाहरुलाई पार्टी कमिटीका अतिरिक्त अखिल नेपाल महिला संघ, अनेरास्ववियु, युवासंघ र खेलकुद महासंघ लगायत उनीहरुको क्षमता र दक्षता अनुसार जिम्मेवारी दिने गरेको छ ।