विराटनगर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङको २३ औँ जिल्ला सम्मेलनमा विवाद उत्पन्न भएको छ ।
अध्यक्षका दौडमा रहेका चार जना बीच सहमति हुन नसकेपछि विवाद उत्पन्न भएको हो । अनेरास्ववियु मोरङको भावी अध्यक्षका लागि हालका उपाध्यक्षहरु तुलसी घिमिरे, जोसेफ घिमिरे, मिलन घिमिरे र रुपेश खड्का चुनाबी मैदानमा रहेका थिए । सभाका अधिकांशले निर्वाचन पद्दतीबाट अध्यक्ष चुन्ने प्रस्ताव गरेता पनि नेतृत्व तहले तुलसी घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्ष दिनु पर्ने माग राखेपछि विवाद उत्पन्न भएको हो । अध्यक्षका दाबेदर तुलसी घिमिरे विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी हुन् । अर्का अध्यक्षका दावेदार जोसेफ घिमिरे समेत सोही क्याम्पसका विद्यार्थी हुन् । जोसेफले यस अघि महेन्द्र मोरङ आदर्श बहुमुखी क्यापसको प्रारम्भिक कमिटी अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । त्यस्तै अर्का आकांक्षी मिलन घिमिरेले सुन्दरहरैचा स्थित सुकुना बहुमुखी क्याम्पसको स्ववियूका उपाध्यक्ष र क्याम्पस प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् । त्यस्तै अर्का आकांक्षी रुपेश खड्का लेटाङ स्थित लेटाङ बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी पुरा गरेका छन् ।
नेतृत्वले एकलौटी ढंगले तुलसी घिमिरेलाई अध्यक्ष बनाउने भएपछि सम्मेलनमा विवाद आएको हो । चुनाबी दौडमा आए तुलसी घिमिरे पराजित हुने संभावना बढि भएकाले नेतृत्वले उनलाई अध्यक्ष बनाउन लागिपरेको अनेरास्ववियुका कार्यकर्ताहरुले बताएका छन् । कार्यकर्ताहरुले नेतृत्वले व्यक्ति विशेषको पछि लाग्न नहुने भन्दै खबरदारी गरेका छन् । निर्वाचन पद्दतीमा नगइ एकलौटी निर्णय गर्ने भएपछि कार्यकर्ताहरुले हल छाडेर निस्केका थिए । कार्यकर्ता हल छाडेर निस्किएपछि नेतृत्वले ५१ सदस्यीय कमिटी गठन गरेको छ । सोही कमिटीले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
सम्मेलनले एक अधयक्ष, दुई उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षको सहित ५१ सदस्य जिल्ला कमिटी आगमी दुई वर्षका लागि चयन गर्नेछ ।