विराटनगर–काठमाण्डौं सुपारी कनेक्सन, स्वीकारपछि तानिए सौर्य एयरलायन्सका अध्यक्ष पोखरेल र व्यापारी राठी

विराटनगर–काठमाण्डौं सुपारी कनेक्सन, स्वीकारपछि तानिए सौर्य एयरलायन्सका अध्यक्ष पोखरेल र व्यापारी राठी

विराटनगर। गत शनिबार विराटनगरबाट काठमाण्डौंमा उड्न लागेको सौर्य एयरलायन्समा हतारहतार हालिएको ५० लाख स्रोत नखुलेको रकम अध्यक्ष दीपक पोखरेलको भएको खुलेको छ । आफ्नै जहाजमा अवैध रकम ओासरपसार गरेको रहस्य अध्यक्ष पोखरेल आफैंले स्वीकारेसँगै यस्तो खुलेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सकी कर्मचारी विराटनगर–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई ५० लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो।
पक्राउपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा प्रहरीले लगाएको थियो। विभागले शाक्यसहित तीनजना कर्मचारी नियन्त्रणमा लिएपछि दीपकले सौर्य एयरलाइन्सकै लेटरप्याडमा ५० लाख रुपैयाँ आफ्नो भएको जिकिर गर्दै कर्मचारीलाई रिहा गरिदिन अनुरोध गरेर गैरकानुनी रकम आर्जन गर्ने गरेको स्वीकार गरेका हुन् ।

उनले गरेको पत्राचारपछि विभागले बरामद भएबराबरकै रकम धरौटी राखे मात्रै कर्मचारी रिहा गर्न मिल्ने जवाफ पठाएको थियो।त्यसपछि आइतबार नगद वा चेक जम्मा गरिदिन भनेपछि सोमबार रकम जम्मा गरेर कर्मचारीलाई रिहा गराईएकोछ ।
स्रोत नखुलेको ५० लाखसँगै अब पोखरेलका कारोबारको समेत अनुसन्धान हुनेछ। पोखरेल सौर्य एयरलाइन्समा आउनुअघि पनि सुपारी कारोबारी हुन् । तत्कालिन केपी ओली नेतृत्वको सरकार हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सौर्यका सञ्चालक दीपक पोखरेलको नेतृत्वमा रहेको सुपारी समूहलाई २५ हजार टन सुपारी पैठारी गर्ने कोटा स्वीकृत गरिदिएपछि कारोबार सुरु भएकोहो ।
५० लाख रुपैयाँ विराटनगरका व्यापारी दिनेश राठीको कार्यालयबाट दिएको भन्ने जानकारी आएको थियो। त्यसबारेमा राठीसँग पनि विभागले टेलिफोनमा सोधपुछ गरेको थियो। सोधपुछको क्रममा राठीले पोखरेलले विभिन्न समयमा कार्गोका सामान दिने गरेकाले सामान नहेरी पठाइदिने गरेको स्वीकार गरेका थिए । राठीले व्यापारी–व्यापारी भएपछि आफूले रकम पठाएको ओबीसँग मंगलबार नै स्वीकारेका थिए ।
विभागले सोधपुछ गरेपछि राठी पनि अहिले काठमाडौं गएका छन् । स्रोत नखुलेको ५० लाखको कनेक्सनका बारेमा राठीसँग पनि थप सोधपुछ गरिने भएको छ ।

यस्तो छ सुपारी कनेक्सनमा पोखरेल–राठी सम्बन्ध
काठमाडौंमा पक्राउ परेकी रेशासँग विभागले सोधपुछ गरेपछि सौर्यका विराटनगरस्थित स्टेसन म्यानेजर प्रकाश पौडेललाई पनि प्रहरीले पक्राउ गर्‍यो। पौडेलले दिएको बयानका आधारमा राठीसँग सोधपुछ गरिएको थियो।
त्यतिनै बेला दीपकले औपचारिक रुपमा पत्र लेखेपछि थप अनुसन्धान अगाडि बढेको थियो। स्रोतका अनुसार, सुपारीको अवैध कारोबारकै कनेक्सन ५० लाख रुपैयाँसँग जोडिएर तानिने भएको छ । व्यवसायीले आफूले पाएको कोटाअन्तर्गतको सबै सुपारी इन्डोनेसियाबाट पैठारी गरेका हुन्। यसरी पैठारी गर्दा कसैले प्रति टन एक हजार ५० र कसैले एक हजार ८ सय डलरको बिल बनाएका छन्। यसमा विराटनगरका अर्का व्यापारी प्रदिप मुरारकका पनि जोडिने स्रोतले बताएको छ ।
भन्सार विभागले सुपारीको भन्सार मूल्य प्रति टन एक हजार ५० डलर निर्धारण गरेको छ। जबकि इन्डोनेसियामा सुपारीको वास्तविक मूल्य नै प्रतिटन दुई हजारदेखि २३ सय डलरसम्म छ। यसरी न्युन बिजकीकरण गरेर ल्याएको सुपारीलाई पैठारीकर्ताले प्रतिकिलो दुई सय ५० देखि तीन सय ३० सम्मको भ्याट बिल बनाएर प्रतिकिलो सात सयदेखि आठ सयसम्ममा बिक्री गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्