विराटनगर । नेकपा एमाले मोरङको ९ औं अधिवेशन भव्य रुपमा उद्घाटन गरिएको छ । विराटनगरको मनास्लु होटलमा जिल्लाभरबाट उत्साहपूर्ण रुपमा कार्यकर्ताको उपस्थितिमा अधिवेशनको उद्घाटन गरिएको हो ।
अधिवेशनको उद्घाटन सत्रमा नेताहरु भानुभक्त ढकाल, गुरु बराल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, बिनोद ढकाल, जीवन घिमिरे लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचन एमालेमाथि गर्नसक्ने प्रहारको अन्तिम किस्ता हुने बताउनुभएको छ । राष्ट्रियसभाको परिणाम प्रतिकुल आउनसक्ने बताउँदै अध्यक्ष ओलीले प्रतिगमन पक्षधरले एमालेमाथि गर्ने अन्तिम किस्ताको प्रहार यहि हुने आरोप लगाउनु भएको हो ।
शुक्रबार मोरङसहित देशभरका ६३ जिल्लामा नेकपा एमालेको अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश नहुने बताउनुभयो । चार वर्षअघि विभिन्न पक्षलाई व्यवस्थापन गर्ने नाममा सिट बाँडफाँट गरेको र अहिले त्यसलाई हतियार बनाएर प्रतिगामी गठबन्धन बनेको भन्दै ओलीले आक्रोस समेत पोख्नुभयो ।
राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ । यसमा एमाले बाहेकका दलहरुले गठबन्धन गरेका छन् ।