‘क्रिस्प्स’ को बिटा परीक्षण सम्पन्न : समाचारलाई छोट्याएर पढ्न मिल्ने

‘क्रिस्प्स’ को बिटा परीक्षण सम्पन्न : समाचारलाई छोट्याएर पढ्न मिल्ने

विराटनगर । समाचारका बिषयवस्तुलाई छोट्याएर जिष्ट कुरा थोरै समयमा पढ्न र बुझ्न मिल्ने गरि विराटनगरमा ‘क्रिस्प्स’ नामक एपको बिटा परीक्षण सम्पन्न भएको छ ।

शनिबार मोरङको विराटनगरस्थित विराटनगर इन्टरनेशनल कलेजमा १०० जना प्रयोगकर्ताहरु माझ एपको बिटा भर्जन परीक्षण भएको हो । परीक्षणका क्रममा प्रयोगकर्ताहरुले एपमा स्वचालित रुपमा पढेर सुनाईदिने र प्रतिक्रिया दिन मिल्ने अप्सन राख्न सुझाव दिएका छन् । कम्पनीले प्रयोगकर्ताहरुबाट आएको सुझावलाई दृष्टिगत गर्दै अबको १ हप्तामा एप लन्च गर्ने तयारी गरेको छ ।

एपले विभिन्न अनलाईन सञ्चारमाध्यममा आएका समाचारहरुलाई छोटो बनाएर पाठकहरु माझ पस्कने कार्य गर्ने कम्पनीले जनाएको छ । समाचारमा भएका आवश्यक जानकारी र समाचारको प्रभावकारितामा कुनै पनि असर नपर्ने गरि एप डिजाईन गरिएको क्रिस्प्सका प्रमुख कार्यकारी अधिकृत अन्जनी कुमार ठाकुरले बताए । उनले अबको हप्तादिनमा एप लन्च गर्ने तयारी रहेको जानकारी दिए ।

‘हामीले सामान्यतः एउटा समाचार पढ्न न्युनतम ४ देखि ५ मिनेटको समय खर्च गरिरहेका हुन्छौं,’ उनले भने, ‘हामीले त्यसैमा आवश्यक गृहकार्य गरेका छौं । हामीले हाम्रो एप मार्फत् ती समाचारहरुलाई न्युनतम १५ देखि २० सेकेण्डमा पढ्न मिल्ने बनाउँछौं ।’

अबको हप्ता दिनभित्र सार्वजनिक हुने क्रिस्प्सको एपमा स्थानीयदेखि राष्ट्रियस्तरका सञ्चारमाध्यमका समाचारहरु पढ्न पाईने कम्पनीले जनाएको छ । पुरै समाचार पढ्न चाहने पाठकहरुका लागि कम्पनीले छोटो भएर आएको समाचारको मुनि ‘थप पढ्नुहोस’ भन्ने विकल्प प्रदान गरेको छ । त्यसमार्फत् पाठकहरुले सम्बन्धित सञ्चारमाध्यमको आधिकारिक वेबपेजमा गएर पुरै समाचार पढ्न पाउनेछन् ।

यस्तै, कम्पनीले श्रव्यदृश्य सहित विभिन्न इलेक्ट्रोनिक सञ्चारमाध्यममा आएका समाचारहरुलाई समेत दर्शक माझ पुर्‍याउने जमर्को गरेको छ । विभिन्न टेलिभिजनमा प्रसारण भएका समाचारहरु युट्युब च्यानलमा उपलब्ध भए त्यसको हाइपरलिङक क्रिप्सको बेवपेज र एपमा सार्वजनिक गरिनेछ । यसरी टेलिभिजनमा आएका मुख्यमुख्य समाचारहरु सिधै क्रिप्सको आधिकारिक वेबपेज वा एप मार्फत् हेर्न सकिने कम्पनीले जनाएको छ ।

हाल कम्पनी भने समाचारहरु छोटो बनाएर आफ्नो वेबपेज र एप मार्फत सार्वजनिक गर्न विभिन्न सञ्चारमाध्यमसँग सम्झौता गर्ने प्रक्रियामा छ । राष्ट्रियस्तरका समाचारका लागि द हिमालयन टाईम्स र अन्नपुर्ण पोष्टसँग तथा स्थानीय समाचारका लागि आवर विराटनगरसँग सहकार्य गर्ने प्रयास भईरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ठाकुरले जानकारी दिए ।

कम्पनी भने हालै आफ्नो आधिकारिक वेबपेज ‘क्रिस्प्स डट टेक’ प्रयोगकर्ताहरुका सार्वजनिक गरेको छ । वेबपेज मार्फत थप जानकारी प्राप्त गर्न सकिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्