विराटनगर । विराटनगरमा पहिलो पटक क्यालिसथेनिस व्यायाम सम्बन्धि वर्कसक सञ्चालन हुने भएको छ । महेन्द्रचौकस्थित टि.जि.आई.पि.जिमले आगामी माघ १ गते क्यालिसथेनिस व्यायामको वर्कशप गर्ने भएको हो ।
सौन्दर्य र शक्तिको प्रतिकका रुपमा विश्वभरमै लोकप्रिय बन्दै गएको व्यायाम वर्कशप टोनि प्रजापतिको प्रमुख प्रशिक्षणमा हुने आयोजक टि.जि.आई.पि.का डेभिड–एकेले जानकारी दिए ।
वर्कशपका विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा क्यालिसथेनिस व्यायाम कुनै पनि उपकरण बिना शारीरिक लयवद्धतामा आधारित अभ्यास रहेको दावी गरिएको छ । यसका प्रशिक्षक समेत रहेका एडोनिस क्षेत्रीका अनुसार विराटनगरमा पहिलो पटक हुन लागेको वर्कशपबाट व्यायामको क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्य राखिएको हो । माघ १ गते बिहान ७ बजेदेखि १० बजेसम्म, ११ बजेदेखि २ बजेसम्म र ३ बजेदेखि ६ बजेसम्मका तीनवटा सेसन चल्नेछन् ।
खासमा यो ग्रिसमा विकसित पुरातन खेल हो । १९ औं शताब्दीको सुरुमा अन्य मुलुकहरुमा समेत विस्तार हुँदै पछिल्लो समय लोकप्रिय व्यायाम विधाको रुपमा क्यालिसथेनिसलाई मानिने गरिएको दावी छ ।