नोबेलका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले दले कालोमोसो

नोबेलका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले दले कालोमोसो

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरे विपरित अतिरिक्त शुल्क असुल गरेको बिषयमा शुक्रबार आयोजित सर्वपक्षीय छलफलबाट निस्कने क्रममा विद्यार्थीहरुले उनीमाथि कालोमोसो दलेका हुन् । कलेजले अतिरिक्त शुल्क लिएको बिषयबारे छलफलका निम्ति शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सर्वपक्षीय भेलाको आयोजना गरिएको थियो । छलफलमा विद्यार्थी, अभिभावक, काठमाडौं विश्वविद्यालयका प्रतिनिधि, केएमसी कलेजका प्रतिनिधि र चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरु सहभागी थिए ।

छलफल सकेर निस्कने क्रममा मन्त्रालयको प्रवेशद्वारमै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । शर्मालाई कालोमोसो दलेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले अनेरास्ववियुका उप-महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन सहित ५ जनालाई नियन्त्रणमा लिएको हो । बाँकी ३ जनाको नाम खुल्न सकेको छैन् ।

यता, नोबेल अस्पतालका जेनेरल म्यानेजर नारायण दाहालले भने शर्मामाथी दुर्व्यवहार मात्र भएको बताएका छन् । उनले कालोमोसो दलेको बिषय झुठो रहेको तर्क गरेका छन् ।

चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शिक्षण शुल्क विपरित नोबेलले विभिन्न शीर्षकमा ३५ देखि ४० लाख रुपैयाँसम्म अतिरिक्त शुल्क असुल्न खोजेको भन्दै पौषको पहिलो हप्तादेखि नोबेलका विद्यार्थीहरु चरणबद्ध आन्दोलनमा छन् । आयोेगले तोकेको भन्दा अन्य अतिरिक्त शुल्क लिन नपाईने, होस्टेल अनिवार्य गर्न नपाईने, होस्टेलको नाममा चर्को शुल्क असुल गर्न नपाईने र अतिरिक्त शुल्कको नाममा विद्यार्थीहरुलाई डराउन धम्क्याउन तथा मानसिक तनाव दिन नपाईने उनीहरुको माग छ । तर, महिनादिन बित्न लाग्दा पनि कलेजले उनीहरुको माग सम्बोधनमा कुुनै तदारुकता देखाएको छैन् । उल्टै, गएको पौष २५ गते रिले अनसन बस्न लागेका विद्यार्थीहरु उपर कलेजले प्रहरीको आडमा सुरक्षा गार्ड भिडाएर आक्रमण समेत गरेको छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको शिक्षण शुल्क ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ । तर, नोबेल शिक्षण अस्पतालले विश्वविद्यालय सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्क लगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त असुल गर्दै आएको छ । चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भएपनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरुसँग मासिक २४ हजार असुल गर्ने गरेको छ । यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ ।

यसका अतिरिक्त नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग काठमाण्डौं विश्वविद्यालय रजिष्ट्रेशन शुल्क बापत २५ हजार, काठमाण्डौं विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिष्ट्रेशन शुुल्क बापत ५ हजार र काठमाण्डौं विश्वविद्यालय परीक्षा शुल्क बापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्