निश्चित अभिभावकलाई प्रलोभनमा पारेर सहमति गरिएको भन्दै विद्यार्थी संगठनको विरोध

निश्चित अभिभावकलाई प्रलोभनमा पारेर सहमति गरिएको भन्दै विद्यार्थी संगठनको विरोध

विराटनगर । विद्यार्थीका अभिभावकलाई आर्थिक प्रलोभनमा पारेर नोबेल मेडिकल कलेजले ५ बुँदे सहमति गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले विरोध जनाएका छन् ।

आईतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका हुन् । विद्यार्थी संगठन, चिकित्सा शिक्षा संर्घष समिति, पिडित विद्यार्थी र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधित्व बिना एकलौटी रुपमा विद्यार्थीका अभिभावकलाई आर्थिक प्रलोभनमा पारेर सहमति गरिएको उनीहरुको भनाई छ । आन्दोलनरत विद्यार्थीहरुको प्रतिनिधित्व हुने गरि मात्र ४ जना अभिभावकले आर्थिक प्रलोभनमा परेर नोबेलसँग गरेको सहमति षड्यन्त्रपूर्ण रहेको उनीहरुको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नोबेलले चिकित्सा शिक्षा आयोगद्वारा तोकिएको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थी र संयुक्त विद्यार्थी संगठनले निरन्तर आन्दोलन गर्दै आइरहेको थियो । तर, आन्दोलन चलिरहेकै बेला माघ १ गते कलेज प्रशासन र केही बिकाउ अभिभावकले ५ बँुदे सहमति गरिएको कार्यप्रति हामी संयुक्त विद्यार्थी संगठन र पिडित विद्यार्थीहरुको गम्भिर आपत्ति रहेको छ ।’

विद्यार्थी संगठनहरुले आयोगद्वारा तोकिएको शुल्क र निर्देशन अक्षरस पालना हुनुपर्छ भन्ने माग गरेका छ्न् । आर्थिक प्रलोभनमा परेर केही अभिभावकहरुले गरेको सहमतिले विद्यार्थी आन्दोलन नरोकिने उनीहरुको भनाई छ । उनीहरुले राज्यको कानुन नमान्ने नोबेल मेडिकल कलेजलाई कानुनी दायरामा नल्याईए विद्यार्थी संगठनको आन्दोलनले अझ सशक्त रुप लिने चेतावनी समेत दिएका छन् ।

निश्चित विद्यार्थी र अभिभावकलाई आर्थिक प्रलोभन र विभिन्न दबाब दिएर विद्यार्थी संगठनको अनुपस्थितिमा कलेजले शनिबार उनीहरुसँग सहमति गरेको थियो । पुरानै बुँदाहरुले निरन्तरता पाउने गरि अभिभावकलाई प्रभावमा पारेर सहमति गरिएको पिडित विद्यार्थीका अभिभावकहरुले बताएका छन् । सहमतिमा विद्यार्थीहरुको एउटै माग सम्बोधन नभएको नाम नखुलाउने शर्तमा एक अभिभावकले आवर विराटनगरलाई बताएका छन् । उनले अभिभावकलाई डर धम्की देखाएर आर्थिक प्रलोभनमा पारेर सहमति गरिएको जानकारी दिएका छन् । उनले भने, ‘नोबेल एक स्टेप पनि तल झरेको छैन् । उल्टै अभिभावकलाई प्रभावमा पारेर जबरजस्ती हस्ताक्षर गर्न लगाईएको छ । अधिकांश अभिभावकलाई वार्ता र सहमति बारे थाहा पनि छैन् ।’

शनिबार भएको द्विपक्षीय वार्तामा अभिभावकका तर्फबाट ४ जनाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । विरेन्द्र कुमार यादव, राजेन्द्र बहादुर थापा, प्रकाश फुयाँल र राम कुमार भट्टराई वार्तामा सहभागी अभिभावकहरु हुन् । सहमति पत्रमा उनीहरुले नै हस्ताक्षर गरेका छन् । तर, हाल उनीहरु सम्पर्कविहिन छन् । सबैको फोन स्वीच अफ छ । कोही पनि सम्पर्कमा आउन चाहेका छैनन् ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको शिक्षण शुल्क ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ । तर, नोबेल शिक्षण अस्पतालले विश्वविद्यालय सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्क लगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त असुल गर्ने गरेको छ । चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भएपनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरुसँग मासिक २४ हजार असुल गर्ने गरेको छ ।

यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ । यसका अतिरिक्त कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग काठमाण्डौं विश्वविद्यालय रजिष्ट्रेशन शुल्क बापत २५ हजार, काठमाण्डौं विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिष्ट्रेशन शुल्क बापत ५ हजार र काठमाण्डौं विश्वविद्यालय परीक्षा शुल्क बापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको छ ।

सोही बिषयलाई लिएर नोबेलमा एमबीबीएस अध्ययन गर्न भर्ना भएका १५ औं ब्याचका विद्यार्थीहरु पौषको पहिलो हप्तादेखि आन्दोलनरत थिए । विद्यार्थीहरुले तालाबन्दी र पुत्ला दहन समेत गरेका थिए । विद्यार्थीहरुको आन्दोलनमा संयुक्त विद्यार्थी संगठनले समेत ऐक्यबद्धता जनाएका थिए । विद्यार्थीहरुको चरणबद्ध आन्दोलन रोकिने सम्भावना नदेखिएपछि शनिबार कलेजले उनीहरुसँग वार्ता बसेर सहमति गरेको हो । तर, सहमतिमा कलेजले विद्यार्थीहरुको एउटै माग सम्बोधन गरेको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्