विराटनगरको नेतृत्वकर्ता दलका नेताको दैनिकी : महामारी सुरक्षा जागरण र स्थानीय तहको निर्वाचन केन्द्रीत

विराटनगरको नेतृत्वकर्ता दलका नेताको दैनिकी : महामारी सुरक्षा जागरण र स्थानीय तहको निर्वाचन केन्द्रीत

विराटनगर । नेकपामा माओवादी केन्द्र विराटनगरका अध्यक्ष नविन पौडेल मंगलबार सीमा क्षेत्रमा कोरोना संक्रमण जोखिमबाट सुरक्षा हुन जागरण जगाउन व्यस्त रहे । कोभिडबाट सुरक्षित रहन घरघरमा सचेतना अभियानमा सक्रिय रहेको बताएका पौडेलले स्थानीय तहको निर्वाचन केन्द्रीत संगठन विस्तारको काम पनि सँगै गरिरहेको बताउन भुलेनन् ।

पहिलो काम कोरोनाबाट सुरक्षित रहनका लागि अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ भन्ने प्रचारलाई वडाका साथीहरुमार्फत वस्तीसम्म पु¥याउँदै आएका छौं, अध्यक्ष पौडेलले भने–त्यसपछि जनसम्पर्कका कामहरु पनि भईरहेका छन् । विराटनगर महानगरमा ३ हजार ५०० संगठित सदस्य रहेको नेकपा माओवादी केन्द्रले वडाबाट टोलमा संगठन विस्तारको काम सुरु गरेको छ । यो अभियान आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत रहेको छ ।

स्थानीय तहको निर्वाचनपछि निर्वाचित प्रतिनिधिसँग नागरिकको गुनासा धेरै छन्, पौडेलले भने–निर्वाचित जनप्रतिनिधिले भन्दा कर्मचारी हावी हुँदा नागरिकले सेवा नपाएको गुनासो धेरै गरेका छन् । संघीयतामा तीन तहका सरकारमध्ये नागरिकसँग जोडिएको स्थानीय सरकार प्रतिनिधि नागरिकसँग हावी हुनुपर्ने पौडेलको भनाई छ । कर्मचारीले दुःख दिएका कुरा नागरिकबाट सुन्दा स्थानीय जनप्रतिनिधि निरिह भए जस्तो देखियो ।

जनतासँग एमाले भन्ने अभियान चलाईरहेको नेकपा एमाले विराटनगर कमिटिका अध्यक्ष सागर थापाले १९ वटा वडामा माघ १५ गतेसम्म टोल कमिटि गठन गर्ने कार्य गरिरहेको बताएका छन् । पेशागत बाहेक भूगोलमा संगठित सदस्य चार हजार रहेको एमाले संगठन विस्तारमा लागेको हो । महामारीमा नागरिकको सुरक्षा र निर्वाचित जनप्रतिनिधिले गरेका कामको समिक्षा घरघरमा पुगेर गरिरहेका छौं, एमाले अध्यक्ष थापाले भने–बिना उपलब्धी कार्यकाल सकेका जनप्रतिनिधिसँग प्रश्न सोध्न नागरिकलाई भनिरहेका छौं । उनले स्थानीय तहको निर्वाचनमा विराटनगरमा एमालेको आवश्यकता महसुश गराउँदै अभियान चलाईरहेको दावी गरेका छन् ।

महानगरमा नौ हजार क्रियाशिल सदस्य रहेको नेपाली काँग्रेसका नगरसभापति दिपक चापागाँईले सबै वडामा पार्टी कार्यलय स्थापनाको काम भईरहेको सुनाए । अर्को महत्वपूर्ण काम मतदाता नामावली संकलनमा नेपाली काँग्रेसले सहयोग गरिरहेको छ, नगरसभापति चापागाँईले भने–अब टोल कमिटि गठन गर्दैछौं, टोलका अध्यक्षमार्फत वडा र वडामार्फत नगरसम्म नागरिकका गुनासालाई केन्द्रीत गर्दैछौं ।
कोभिडका कारण केहि ठूला कार्यक्रम स्थगीत गरेको नेपाली काँग्रेसले साना कार्यक्रमहरु मापदण्ड पूरा गरेर नियमित सञ्चालन गर्ने भएको छ । त्यसका लागि टोलका गुनासो केन्द्रीत गर्न त्यहि समिति विस्तार गर्ने योजना अगाडी सारेको हो ।
नेपाली काँग्रेसले जितेको महानगरमा कति काम भए र कति काम गर्न बाँकी छन् भन्ने कुरा नागरिकबाटै आएका गुनासोलाई केन्द्रीत गर्ने योजना रहेको सभापति चापागाँईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्