विराटनगरमा फेला पर्‍यो २४ सय वर्ष पुरानो मन्दिरको अवशेष

विराटनगरमा फेला पर्‍यो २४ सय वर्ष पुरानो मन्दिरको अवशेष

विराटनगर । विराटनगरको–१८ भेडियारीस्थित विराट राजाको दरबार रहेको क्षेत्रमा जारी उत्खननको क्रममा प्राचिन मन्दिरको भग्नावशेष फेला परेको छ ।

उत्खननको क्रममा इशापूर्व दोश्रो शताब्दीको मन्दिरको अवशेष फेला परेको हो । फेला परेको अवशेष २४ सय वर्ष पुरानो रहेको दाबी गरिएको छ । महाभारतकालसँग जोडेर हेर्ने गरिएको यस ठाउँमा नेपाल सरकारको पुरातत्व विभागको टोलीले पुष २७ गतेबाट उत्खननको कार्य सुरु गरेको छ । दरबार क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक महत्वका बिषयवस्तु पत्ता लगाउन सरकारी निर्देशानुसार उत्खनन सुरु गरिएको पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले बताए । उनले प्रारम्भिक चरणमा दरबार क्षेत्रको मध्यभागमा माटोको ढिस्कोको रुपमा रहेको भागलाई ४ भागमा रेखाङ्कन उत्खनन् कार्य जारी रहेको जानकारी दिए । ‘हामीले जमिन मुनिको संरचनाको ढाँचा, आकार र त्यसले ओगटेको क्षेत्रफल पत्ता लगाउने छौं,’ उनले भने, ‘कार्बन डेटिङ गरेर संरचना निर्माणको समय समेत पत्ता लगाउने सकिन्छ ।’

नेपाल सरकारको पुरातत्व विभागबाट खटिएको टोलीले कुनै प्राविधिक गडबडी नभए ३ हप्ताभित्र उत्खननको कार्य सम्पन्न गर्नेछ । उक्त अवधिमा टोलीले दरबार क्षेत्रको सांस्कृतिक ईतिहास समेत अध्ययन गर्ने तयारी गरेको छ । उत्खनन कार्यका लागि यतिबेला दरबार क्षेत्रमा १७ जना मजदुर खटाईएका छन । विविध कार्यादेश सहित सो कार्यका लागि सरकारले १० लाख रुपैयाँको विनियोजन गरेको छ ।

वि.सं. २०२७ सालमा पनि नेपाल सरकारको पुरातत्व विभागले यस क्षेत्रमा उत्खननको कार्य गरेको थियो । उत्खननको क्रममा विभागले ४० वटा पञ्चमार्क नामक चाँदीका मुद्रा भेटेको थियो । उक्त मुद्रालाई ईशापूर्व कालको अवशेष मानिएको थियो । त्यसबेला भेटिएका ती चाँदीका मुद्राहरु हाल नेपाल सरकारको राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित छन् । साबिकको बुधनगर गाउँपालिका र हाल विराटनगर–१८ को यसक्षेत्रमा यसअघि पनि कयौंपटक पुरातात्विक महत्वका समाग्रीहरु फेला परेको विराट राजा खोज तथा संरक्षण समितिका अध्यक्ष कमल किशोर यादवले बताए । फेलापरेका कतिपय सामाग्री राष्ट्रिय संग्रहालय र केही सामाग्रीहरु स्वयंम आफुसँगै सुरक्षित रहेको उनले जानकारी दिए ।

विराटनगर–१८ स्थित भेडियारीमा विराट राजाको दरबार रहेको र पाण्डवहरु वनबासपछि १ बर्षसम्म सो दरबारमा गुप्तबास बसेको विश्वास गरिन्छ । त्यसबेलाको ३०-४० कोठाको दरबार र मन्दिर अझैपनि जमिनमुनि रहेको प्राचीन कथन छ । विभिन्न धार्मिक ग्रन्थहरुमा समेत यसबारे वर्णन गरिएको छ । प्रचलित किवदन्ती अनुसार विराट राजाको दरबार रहेको उक्त क्षेत्रमा पाण्डवहरूको गतिविधि चियो गर्न दुर्योधनले भेदियारी अर्थात् गुप्तचर पठाएका थिए । जसको आधारमा यस क्षेत्रको नाम भेडियारी रहन गएको हो ।

सोही बिषयको वास्तविकता पत्ता लगाउन हाल पुरातत्व विदहरुको टोलीले दरबार क्षेत्रमा उत्खननको कार्य जारी राखेका छन् । आउँदो तीन साताभित्र यहाँ रहेको संरचना र भग्नावशेषको स्पष्ट खाका प्राप्त हुने उनीहरुको अपेक्षा छ । यसअघि २०७७ साल चैत ११ गते लण्डनको दुर्‍हाम विश्वविद्यालयका पुरातत्वविदहरुको अध्ययन टोलीले यस क्षेत्रको भु–भौतिक सर्वे गरेका थिए । अध्ययन टोलीले विराट राजाको दरबार क्षेत्रको ऐतिहासिकता र वास्तविकता पत्ता लगाउन सिमित क्षेत्रफलभित्र ३ मिटर जमिन मुनिसम्मको अवस्था अध्ययन गरेका थिए । सर्वेको आधारमा अध्ययन टोलीले तयार पार्ने प्रतिवेदनकै आधारमा नेपाल सरकारको पुरातत्व विभागले उत्खनन्को कार्य अघि बढाउने तयारी थियो । तर, अध्ययन टोलीको प्रतिवेदन हालसम्म प्राप्त हुन सकेको छैन् ।

भेडियारीस्थित विराट राजाको दरबारका नाममा नेपाल सरकारसँग हाल कुल ८ विगाहा ३ कठ्ठा १७ धुर जग्गा छ । यस क्षेत्रमा विराट राजाको दरबार बनाउने योजनालाई पुर्णता दिन विराटनगर महानगरपालिका पनि विगत लामो समयदेखि कसरत गर्दै आएको छ । विराट राजाको दरबार रहेको जनविश्वास गरिदै आएको यसक्षेत्रको आसपासमा अहिले पनि धरवा, किच्चकबध, भन्सिया, थरथोवा, गुहिया, दिघरी र बहरवा गरि आधा दर्जनभन्दा बढी पोखरीहरू छन् । जसलाई परापुर्वकालमा राजा विराटले विभिन्न प्रयोजनका लागी बनाएको यहाँका स्थानीयहरुले दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्