बर्जु महोत्सव तोडफोड तथा आगजनी प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन

बर्जु महोत्सव तोडफोड तथा आगजनी प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन

विराटनगर । बर्जु महोत्सव तोडफोड र आगजनी प्रकरणको विस्तृत अनुसन्धानका निम्त्ति सुनसरी प्रशासनले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रशासनले बुधबार सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सो बारे जानकारी दिएको हो । समितिमा सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्की, सशस्त्र प्रहरी बल ४ नं. गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीलाई सदस्यको रुपमा राखिएको छ । समितिले ५ दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरि प्रमुख जिल्ला अधिकारी अनुुसन्धान प्रतिवेदन बुझाउने जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सुनसरी प्रशासनको अनुमति बिना आयोजकले महोत्सवको आयोजना गरेकाले मंगलबार अप्रिय घटना भएको बताईएको छ । कोभिड संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै सुनसरी प्रशासनले महोत्सवमा रोक लगाएको भएपनि आयोजकले प्रशासनको निर्देशन विपरित महोत्सव जारी राखेकाले मंगलबार आगजनी र तोडफोडको घटना भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले तत्कालिन अवस्थामा पुस २३ गते महोत्सव आयोजनाको अनुमति दिईएको भएपनि पुस २६ गते गृह मन्त्रालयबाट जारी कोरोना संकट व्यवस्थापन समितिको कोरोना प्रोटोकोल पालना सम्बन्धी निर्देशन अनुसार सबैै कार्यक्रम र अनुमति खारेज गरिएको जानकारी दिए ।

उनले भने ‘पहिले अनुमति दिईएको थियो । तर, गृह मन्त्रालयबाट निर्देशन आएपछि पुस २७ गते निर्णय गरेर २८ गते जिल्लाका सबै स्थानीय तहलाई उक्त निर्देशन पालना गर्न गराउन पत्राचार गरिएको थियो । उक्त पत्राचारसँगै माघ २ गतेको पत्रबाट बर्जु महोत्सवकोे रोक्न आयोजकलाई निर्देशन गरिएको थियो । तर, आयोजकले अटेर गरेपछि अप्रिय घटना भएको हो ।’

सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा पुस २४ गतेदेखि बर्जु सामुदायिक विकास केन्द्रद्वारा तेश्रो बर्जु महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन आयोजकले भारतीय भोजपुरी कलाकार खेशारीलाल यादवलाई कार्यक्रममा निमन्त्रण गरेको थियो । तर, कोभिड महामारीका कारण सुनसरी प्रशासनले महोत्सवमा रोक लगाएको थाहा पाएपछि उनी कार्यक्रममा सहभागी भएनन् । कलाकार यादवको पुर्वनिर्धारित साङ्गितिक कार्यक्रम रद्द भएपछि बिहानैदेखि रु. ३०० र ५०० का दर टिकट काटेर बसेका स्थानीयले आक्रोशमा कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका थिए ।

स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो, मोटरसाईकल तथा साउण्ड सिस्टममा आगजनी गर्नुका साथै स्टेजका सामाग्री र कुर्सीहरु समेत तोडफोड गरेका थिए । स्थानीयको तोडफोडबाट भने डेढ करोड बराबरको क्षति भएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्