विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकमा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटला प्रकरणमा संलग्न हिमाल भट्टराईलाई जिल्ला प्रशासन कार्यालयले ५५ हजार धरौटी आदेश गरेको छ । ‘अभद्र व्यवहारको मुद्दा’ मा जिल्ला प्रशासन कार्यालय मोरङले तोकेको ५५ हजार रुपैयाँ धरौटी रकम नबुझाउँदा उनी जेल चलान भएका छन् ।
प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दामा मंसिर १९ गते पक्राउ गरेको थियो । बैंकको १६ करोड आसपासको रकम हिनामिना भएको देखिएपछि फरार हुनसक्ने बताउँदै उनलाई तत्काल पक्राउ गरिएको थियो । पछि बैंकिङ कसुर मुद्दा समेत अनुसन्धान गरिएका कारण पुनः पक्राउ पर्ने भएकोले भट्टराईले धरौटी नबुझाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको इजालासले अभद्र व्यवहारको मुद्दामा धरौटी माग गरेको छ ।
भट्टराईसहित बैंकका चारजनामाथि मोरङ प्रहरीले ‘बैंकिङ कसुर’ मुद्दामा पनि अनुसन्धान गर्दै आएको छ । गत पुस १४ गते बैंकका सिइओ नविन सुवेदीसहित बैंकका लेखा प्रमुख देविप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरि अहिले मोरङ प्रहरीले उच्च अदालत विराटनगरमा बैकिङ कसुरमा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।