विराटनगरको कञ्चनबारीमा आकाशे पुलको निर्माण कार्य सुरु

विराटनगरको कञ्चनबारीमा आकाशे पुलको निर्माण कार्य सुरु

विराटनगर । दुर्घटना न्युनीकरण र सर्वसाधारणको सुगमताको लक्ष्य सहित विराटनगरको कञ्चनबारीमा आकाशे पुल निर्माणको कार्य सुरु भएको छ ।

कञ्चनबारी चौकदेखि ५ मिटर उत्तरमा बिहीबारदेखि आकाशे पुल निर्माणको कार्य थालेको हो । महानगरको योजना अनुसार हाल कञ्चनबारीमा पुल निर्माणका लागि खन्ने काम सुरु गरिएको छ । ३ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि करिब १ करोडको लागतमा पुल निर्माणको योजना अघि बढाईएको महानगरले जनाएको छ । निर्माण अवधिमा कुनै प्राविधिक गडबडी तथा बाधा अड्चन सिर्जना नभए तोकिएकै समयमा आकाशे पुलको निर्माण सम्पन्न भईसक्ने साईट इन्जिनियर दिपेन कार्कीले बताए । उनले भने, ‘योजना अनुुसार समयमै निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य हो । तर, त्यो स्थानीयद्वारा कुनै बाधा विरोध नभए मात्र सम्भव छ ।’

विराटनगरको कञ्चनबारी निर्माण भईरहेको आकाशे पुलको ठेक्का विराटनगरकै आर.के बिल्डर्स हात पारेको महानगरले जनाएको छ । विराटनगर महानगरपालिकाले २०७७ साल माघमै विराटनगर महानगर क्षेत्रभित्र ३ ठाउँमा आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाएको थियो । महानगरले १ वर्षभित्र निमार्ण सम्पन्न गर्ने गरि मूल्य अभिवृद्धि कर बाहेक कुल २ करोड ४७ लाखको लागतमा योजनाको ठेक्का सम्झौता गरेको थियो । विराटनगरको घाँस चोक, बरगाछी चोक, कञ्चनबारी चोकमा आकाशे पुल निर्माण गर्ने महानगरको लक्ष्य थियो । पुल निर्माणका लागि विराटनगरको कला विल्डर्स र आर.के विल्डर्सले ठेक्का हात पारेको थियो । तर, स्थानीयको बाधा अवरोधका कारण महानगरको उक्त योजना अघि बढ्न सकेन् ।

त्यसअघि पनि सडक विभागको स्वीकृति र कानुनी बाधा अड्चनका कारण केही समय ढिलाई व्यहोरेको महानगरले बिहीबारबाट बल्ल कञ्चनबारीमा पुल निर्माण सुरु गरेको छ । ६ लेन सडकको मापदण्ड अनुसार निर्माण थालिएको आकाशे पुल फलामे संरचनाको हुने महानगरले जनाएको छ । आवश्यकता अनुसार अन्यत्रै पनि सहजै स्थानान्तरण गर्ने परिकल्पना बमोजिम आकाशे पुलको निमार्ण कार्यलाई तीव्रता प्रदान गरिएको निर्र्माण कम्पनीले जानकारी दिएको छ ।

निर्माणाधिन आकाशे पुलले भने महानगरको सौन्दर्यता र विकासमा थप टेवा पुर्‍याउने महानगरको विश्वास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्