नोबेलका विद्यार्थीहरुको माग सम्बोधन गर्न प्रदेश सरकारले बनायो अध्ययन समिति

नोबेलका विद्यार्थीहरुको माग सम्बोधन गर्न प्रदेश सरकारले बनायो अध्ययन समिति

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अतिरिक्त शुल्क लगायतका विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति गठन गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले समिति गठन गरेको हो । कलेजमा विगत केही हप्तादेखि शुल्क वृद्धि लगायतका विषयमा विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका छन् । मन्त्रालयका अस्पताल शाखा तथा चिकित्सक महाशाखा प्रमुख सागर प्रसाईंको संयोजकत्वमा बनेको समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानुन उपसचिव सदस्य छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन गरिएको छ । समितिलाई कार्यक्षेत्र पनि तोकिएको छ ।

नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षण अस्पताल व्यवस्थापनबीच विवाद हुनाका कारण पहिचान गर्ने र यस सम्बन्धमा भएका नीतिगत तथा कानुनी व्यवस्थाका विषयहरू अध्ययन गरी विवरण तयार गर्ने समितिलाई कार्यक्षेत्र तोकिएको छ ।

त्यस्तै, चिकित्सका शिक्षा आयोगबाट निर्धारित शुल्क तथा शिक्षण अस्पतालले विद्यार्थीबाट लिएको वा दाबी गरेको शुल्कको अध्ययन गरी विवरण तयार गर्ने र समस्या समाधानका विकल्प सहितका सुझावहरू पेश गर्ने कार्यक्षेत्र समितिलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्