प्रदेश १ राष्ट्रिय सभा निर्वाचन : ३ सिटका मतदान हुँदै

प्रदेश १ राष्ट्रिय सभा निर्वाचन : ३ सिटका मतदान हुँदै

विराटनगर । प्रदेश नं. १ बाट ३ जना राष्ट्रियसभा सदस्य निर्वाचित गर्न बुधबारको मतदान प्रक्रिया सुरु भएको छ ।

बुधबार बिहान ९ बजेदेखि विराटनगर–१० स्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण कार्यालयमा मतदान सुरु भएको होे । पालिकाका प्रमुख तथा उप–प्रमुखका लागि विराटनगर–१० स्थित प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण कार्यालयलाई मतदान केन्द्र तोकिएको छ । बुधबारको मतदानमा प्रदेश नं. १ का स्थानीय तहका प्रमुुख तथा उप–प्रमुख र प्रदेशसभाका सदस्य गरि कुल प्रदेश १ मा ३६४ जनाले मतदान गर्दैछन् ।

प्रदेश नं. १ बाट ३ जना राष्ट्रियसभा सदस्य निर्वाचित गर्न पाँचदलीय गठबन्धनबाट ३, नेकपा एमालेबाट ३ र राप्रपाबाट २ गरि ८ जना प्रतिस्पर्धामा छन् । जसमा नेपाली कांग्रेसका तर्फबाट अन्यमा झापाका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीका तर्फबाट महिलामा भोजपुरकी जयन्ती राई र जनता समाजवादी पार्टीका तर्फबाट अल्पसङ्ख्यकमा भोजपुरकै हेमराज राई थुलुङ चुनावी मैदानमा छन् ।
नेकपा एमालको तर्फबाट अन्यमा मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अल्पसङ्ख्यकमा सोलुखुम्बुकी सोनाम ग्याल्जेन शेर्पा प्रतिस्पर्धामा छिन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि खुल्लामा झापाका अमर विष्ट र महिलामा रञ्जु प्याकुरेल पनि राष्ट्रियसभा सदस्य पदको उम्मेदवार छन् ।

कार्यकाल सकिएर फाल्गुण २० गते प्रदेश नं. १ बाट राष्ट्रियसभा सदस्यको ३ पद खाली हुँदैछ । फाल्गुणमा कार्यकाल सकिन लागेका तीनवटै सदस्य यसअघि एमालेबाट निर्वाचित भएका थिए । एमालेका पर्शुराम मेघी गुरूङ, अगमसिंह वान्तवा र नैनकला ओझा यसअघि निर्वाचित राष्ट्रियसभा सदस्य हुन् ।

कसको मतभार कति ?
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा स्थानीय तहका प्रमुुख, उप–प्रमुख र प्रदेशसभाका सदस्य गरि कुल प्रदेश १ मा ३६४ मतदाता छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानूनी व्यवस्था छ । जसअनुसार प्रदेश १ मा ९२ प्रदेशसभा सदस्यहरुको मतभार ४ हजार ४१६ र २७२ जना पालिका प्रमुख तथा उप–प्रमुखको मतभार ४ हजार ८९६ छ ।

निर्वाचनमा प्रदेशसभाका ९३ जना मतदाता हुनुपर्नेमा टङ्क आङ्बुहाङ माओवादी केन्द्रको कारबाहीमा परेपछि हाल उनको पद रिक्त रहेको छ । बाँकी १३७ स्थानीय तहमा २७४ मतदाता हुनुपर्नेमा २ जनाको निधन भएको कारण स्थानीय तहको कुल मतदाता २७२ मात्र हुन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिकाका अध्यक्ष ङिम दोजी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएकाले उनीहरुको पद रिक्त छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानूनी व्यवस्था छ । जसअनुसार प्रदेश १ मा ९२ प्रदेशसभा सदस्यहरुको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरि जम्मा कुल मतभार ९ हजार ३१२ रहेको छ  ।

प्रदेश १ मा नेकपा एमालेका जनप्रतिनिधिहरुको कुल मतभार ४ हजार ५२४ छ भने पाँचदलीय गठबन्धनको कुल मतभार ४ हजार ६६८ छ । जसमा गठबन्धनमा आबद्ध नेपाली काँग्रेसको २ हजार ७३६, नेकपा माओवादी केन्द्रको १ हजार ८, नेकपा (एकीकृत समाजवादी) को ६६०, जनता समाजवादी पार्टीको २१६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार छ ।

प्रदेशमा नेपाली कांग्रेससँग प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ रहेका छन् । कांग्रेससँग स्थानीय तहका प्रमुख र उप–प्रमुख गरि ९६ जनाको १ हजार ७२८ तथा प्रदेशसभामा २१ जना सांसदको १००८ गरि कुल २ हजार ७३६ मतभार छ ।
नेकपा माओवादी केन्द्रसँग पनि १५ जना प्रदेशसभा सदस्य र १६ जना स्थानीय तहका मतदाता प्रतिनिधि छन् । माओवादीको जम्मा मतभार १ हजार ८ छ ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) सँग प्रदेशसभामा १० सांसद र स्थानीय तहमा १० जना मतदाता प्रतिनिधी छन् । यसरी एकीकृत समाजवादीको जम्मा मतभार ६६० छ ।

प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष २ रहेको जनता समाजवादी पार्टीसँग २१६ मतभार छ भने अध्यक्ष ३, उपाध्यक्ष १ र प्रदेशसभा सदस्य १ रहेको राप्रपासँग १२० मतभार छ । प्रदेशसभामा १ सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग ४८ मतभार रहेको छ । प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपासँग १२० मतभार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्