विराटनगरका सन्तोष सरकारको ‘फु’ उत्कृष्ट २० चलचित्रको सुचीमा

विराटनगरका सन्तोष सरकारको ‘फु’ उत्कृष्ट २० चलचित्रको सुचीमा

विराटनगर । नेपाल चलचित्र निर्देशक समाजद्वारा आयोजित ‘जातीय विभेद विरुद्ध लघु चलचित्र प्रतियोगिता’ मा विराटनगरका सन्तोष सरकारको ‘फू’ पर्न सफल भएको छ ।

जातीय विभेदलाई निरुत्साहित पार्ने उद्देश्यका साथ विराटनगरमै बनाईएको उक्त चलचित्र समाजको उत्कृष्ट २० को सुचीमा पर्न सफल भएको हो । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युुएनडिपी नेपालको सहकार्यमा चलचित्र निर्देशक समाजले प्रतियोगिताको आयोजना गरेको थियो । निर्माता, निर्देशक तथा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ का कार्यसमिति सदस्य र मैथिली चलचित्रकर्मी संघका अध्यक्ष समेत रहेका सन्तोष सरकारद्वारा निर्देशित चलचित्र ‘फु’ माघ ४ गते युएडिपीको आधिकारिक फेसबुक पेज र युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो । चलचित्रले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाईरहेको छ ।

जातीय विभेद विरुद्ध लघु चलचित्र प्रतियोगिताका निम्त्ति तयार गरिएको उक्त लघु चलचित्रको कथा पनि सरकारले आफै तयार पारेका हुन् । धिरेन शाहले छायाङ्कन गरेको उक्त चलचित्रलाई पवन सहनीले सम्पादन गरेका छन् । चलचित्रमा बिक्रम गुप्ता, निरज ब्ल्याक, राजु यादव, सरोज यादव र बाल कलाकार प्रिन्स सरकारको अभिनय रहेको छ । सरकार सिने क्रिएसन्सले प्रस्तुत गरेको उक्त चलचित्रमा नसराज घिमिरेको संगीत संयोजन छ । ३ मिनेट लामो चलचित्र ‘फु’ भने स्टार स्टुडियोमा डबिङ गरिएको हो ।

आयोजकले नेपालमै निर्मित ५६ वटा चलचित्रहरु मध्येबाट उत्कृष्ट २० चलचित्रलाई प्रतियोगिताका छनौट गरेको छ । नेपालमै निर्मित उक्त चलचित्रहरु युएनडिपी नेपालको आधिकारिक फेसबुक पेज र युट्युबमा राखिएका छन् । सामाजिक सञ्जालमा पाएको प्रतिक्रिया र निर्णायकहरुले प्रदान गर्ने अङ्कका आधारमा छनौटमा परेका २० चलचित्रमध्येबाट प्रथम, द्वितीय, तृतीय हुनेछन् । आयोजकले विजेताहरुका लागि प्रमाण–पत्र सहित नगद पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख ५० हजार र तृतीय हुनेलाई नगद रु. ५० हजार सहित प्रमाण–पत्रको व्यवस्था गरिएकोे आयोजकले जनाएको छ ।

नेपाल चलचित्र निर्देशक समाजद्वारा आयोजित उक्त चलचित्रले समाजमा जनचेतना फैलाउनुका साथै विद्यमान जातीय विभेदको अन्त्य गर्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ । यसले कोरोना महामारीका कारण संकटमा परेर तङग्रिने प्रयासमा रहेको चलचित्र उद्योगलाई समेत सहयोग पुर्‍याउने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्