प्रदेश नं. १ मा राष्ट्रिय सभाको मतदान सम्पन्न : ३६४ मध्ये ३६१ ले मतदान गरे

प्रदेश नं. १ मा राष्ट्रिय सभाको मतदान सम्पन्न : ३६४ मध्ये ३६१ ले मतदान गरे

विराटनगर । प्रदेश नं. १ बाट ३ जना राष्ट्रियसभा सदस्य निर्वाचित गर्न बुधबारको मतदान सम्पन्न भएको छ ।

बुधबार बिहान ९ बजेदेखि विराटनगर–१० स्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण कार्यालयमा सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो । बुधबार भएको मतदानमा कुल ३६४ मध्ये ३६१ मत खसेको छ । स्थानीय तहका २ जना प्रमुख तथा उप–प्रमुख र १ जना प्रदेशसभा सदस्यले मतदान नगरेको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विराटनगर महानगरपालिकाकी उप–मेयर इन्दिरा कार्की, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले र फरार सांसद गुलेफुन खातुनले बुधबार मतदान गरेनन् ।

पालिकाका प्रमुख तथा उप–प्रमुखका लागि बुधबार विराटनगर–१० स्थित प्रदेश निर्वाचन कार्र्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण कार्यालयलाई मतदान केन्द्र तोकिएको थियो । मतदान सम्पन्न भएसँगै अबको केही बेरमै मतगणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश नं. १ बाट ३ जना राष्ट्रियसभा सदस्य निर्वाचित गर्न पाँचदलीय गठबन्धनबाट ३, नेकपा एमालेबाट ३ र राप्रपाबाट २ गरि ८ जना प्रतिस्पर्धामा छन् । जसमा नेपाली कांग्रेसका तर्फबाट अन्यमा झापाका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीका तर्फबाट महिलामा भोजपुरकी जयन्ती राई र जनता समाजवादी पार्टीका तर्फबाट अल्पसङ्ख्यकमा भोजपुरकै हेमराज राई थुलुङ चुनावी मैदानमा छन् ।
नेकपा एमालको तर्फबाट अन्यमा मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अल्पसङ्ख्यकमा सोलुखुम्बुकी सोनाम ग्याल्जेन शेर्पा प्रतिस्पर्धामा छिन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि खुल्लामा झापाका अमर विष्ट र महिलामा रञ्जु प्याकुरेल पनि राष्ट्रियसभा सदस्य पदको उम्मेदवार छन् ।

कार्यकाल सकिएर फाल्गुण २० गते प्रदेश नं. १ बाट राष्ट्रियसभा सदस्यको ३ पद खाली हुँदैछ । फाल्गुणमा कार्यकाल सकिन लागेका तीनवटै सदस्य यसअघि एमालेबाट निर्वाचित भएका थिए । एमालेका पर्शुराम मेघी गुरूङ, अगमसिंह वान्तवा र नैनकला ओझा यसअघि निर्वाचित राष्ट्रियसभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्