विराटनगर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै विराटनगरमा सडक बहस गरेको छ ।
विराटनगर ट्राफिक चौकमा बुधबार सडक बहसमा वक्ताहरुले स्थानीय तहको निर्वाचन तत्काल घोषणा हुनुपर्ने बताएका छन् । निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको उनीहरुको भनाई छ । यस अघि नेकपा एमाले मोरङले सडकबाट पत्रकार सम्मेलन गरी चरणबद्धको आन्दोलनको घोषणा गरेको थियो ।
प्रदेश १ का पूर्व मुख्यन्यायाधिवक्ता चुडामणि आचार्यले सरकारले संविधानको बर्खिलाप गर्नेगरि निर्णय गर्न नसक्ने बताए । संविधानले एक दिनपनि जनप्रतिनिधि विहिन स्थानीय तहको परिकल्पना नगरेको उनको भनाई छ । सरकारको भजन गाउने कानुन व्यवसायीलाई बोलाएर संविधानको छिद्र खोज्ने काम भईरहेको उनको भनाई छ । उनले अविलम्व निर्वाचनको मिति घोषणा हुनुपर्ने बताए । अर्थशास्त्री प्रा.डा. अर्जुन बरालले संविधानको व्यवस्था अनुसार तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरे । उनले स्थानीय तहलाई जनप्रतिनिधि विहिन बनाउन नहुनेमा जोड दिए ।
डा. बरालले प्रदेश १ सरकारले आर्थिक भार पर्ने गरि मन्त्रालय थप गर्ने कार्य शुरु गर्नु गलत भएको बताए । उनले भने,‘ सरकारको यो कदमको सवैले विरोध गर्नुपर्छ ।’ मानव अधिकारकर्मी सोमराज थापाले समयमा निर्वाचन नहुँदा मुलुक अस्थिरता तर्फ जाने बताए । उनले संविधान अनुसार निर्धारित मितिमै निर्वाचन हुनुपर्ने माग गरे । सत्तालाई टिकाउनका लागि निर्वाचन मिति पर सार्न नमिल्ने थापाको भनाई छ । पत्रकार यज्ञ शर्माले बर्तमान सरकार निर्वाचनमा जान डराईरहेको बताए । चौतर्फी दवावपछि सरकार स्थानीय तहको निर्वाचन जेठमै गर्नुपर्ने मनस्थितिमा देखिएपनि निर्वाचन मिति घोषणा गर्न आलटाल गरिरहेको उनको भनाई छ ।