विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुका लागि प्रि–युनिभर्सिटी कक्षा सुरु गरेको छ ।
कलेजको बिआईएम, बिएससी सिएसआईटी, बिएचएम र बिसिए कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुका लागि कलेजले प्रि–युनिभर्सिटी कक्षा सुरु गरेको हो । विद्यालय तथा विश्वविद्यालय शिक्षण प्रणालीमा रहेको रिक्ततालाई पुरा गर्न तथा विद्यार्थीहरुलाई बिषयगत जानकारी दिने उद्देश्यले कलेजले उक्त कक्षा सञ्चालन गरेको जनाएको छ ।
कलेजले ‘लर्निङ विथ फन’ को अवधारणा बमोजिम बौद्धिक खेल, उत्प्रेरणात्मक सेसन तथा बिषयगत कक्षाहरु समेटिने गरि उक्त कक्षा सञ्चालन गरेको कलेजका निर्देशक भेषराज पोखरेलले बताए । विद्यार्थीहरुको शिक्षण सिकाई पद्धतिलाई थप गुणस्तरीय बनाउन प्रि–युनिभर्सिटीको कक्षाले महत्वपुर्ण भुमिका खेल्ने क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए । कलेजले सोमबारदेखि उक्त कक्षा सञ्चालन गरेको हो ।
कक्षाको पहिलो दिन सामाजिक अभियान्ता तथा प्रख्यात मोटिभेसनल स्पीकर वसन्त अधिकारी, कलेजका प्राध्यापक आशिष अक्स र होटेल म्यानेजमेन्ट विभागका प्रमुख सरोज पौडेल लगायतले विद्यार्थीहरुलाई बिषयगत जानकारी प्रदान गरेका थिए ।