सप्तकोसी डेभलेपमेन्ट बैंक विराटनगरका सिईओ सुवेदीसहित १२ जना विरुद्ध मुद्दा दर्ता

सप्तकोसी डेभलेपमेन्ट बैंक विराटनगरका सिईओ सुवेदीसहित १२ जना विरुद्ध मुद्दा दर्ता

विराटनगर । विराटनगरस्थित सप्तकोसी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयमा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन बैंकका सीईओ नवीन सुवेदीसहित १२ जनाविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बैंकिङ कसुर मुद्दामा सिईओ सुवेदीसहित ९ जना बैंकका कर्मचारी र तीन जना खातावालालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले बैकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार सीईओ सुवेदीसहित १२ जनाविरुद्ध उच्च अदालतको वाणिज्य इजलासमा मुद्दा दर्ता गराएको जानकारी दिनुभयो । बैंकको अपचलन भएको १५ करोड ७५ लाख र ५ सय ७५ रुपैयाँ र सोही बराबरको जरिवाना तथा ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको हो ।

विराटनगर ६ घर भएका सीईओ सुवेदी, बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख विराटनगर १ का हिमाल भट्टराई, वित्तीय प्रमुख देवीप्रसाद भण्डारी, अप्रेशनल प्रमुख अमित थापा मगर, होमप्रसाद पौडेलविरुद्ध मुद्दा दर्ता गरिएको छ । उनीहरु पक्राउ परिसकेका छन् । बैंकका कार्यालय सहयोगी चूडाबहादुर निरौला, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बैंकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौलाविरुद्ध पनि मुद्दा दर्ता गराइएको छ ।

त्यस बाहेक खातावाला बबिता सुवेदी(बस्नेत), कमल दाहाल र मनोज भट्टराईविरुद्ध मंगलबार मुद्दा दर्ता भएको छ । उनीहरु ७ जना फरार छन् । पक्राउ परेका ५ जनाको बुधबारबाट बयान सुरु भएको छ । सीईओ सुवेदीको बयान भने बुधबार सकिएको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । विराटनगर महानगरपालिका ७ स्थित सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५७५ रूपैयाँ हिनामिना भएको अनुसन्धानबाट खुलेपछि प्रहरी ५ जनालाई पक्राउ गरेर मुद्दा दर्ता गराएको छ ।

सीईओ सुवेदीले बैंकमा परिवारका सदस्यहरुको सञ्जाल बनाएर बैंकको मुनाफा रकम रेमिटान्सबाट आएको देखाएर हिनामिना गर्दै आएका थिए । सीईओ सुवेदीले बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालयमा जेनेरल सर्भिस डिपार्टमेन्ट प्रमुखमा आफ्ना फूपुको छोरा भट्टराईमार्फत रकम हिनामिना गरेको पाइएको छ ।
सुवेदीले ठूलो बुवाकी छोरी झापाको गौरादहकी बबिता सुवेदीको नाममा भट्टराईलाई फर्जी खाता खोल्न लगाएर १४ करोडभन्दा बढी रकम निकालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बबिताको नाममा रहेको बचत खातामा आईएमई, प्रभू मनी ट्रान्स्फर, सिटी, आईपे, समसार र हिमाल रेमिटबाट सन् २०१६ देखि २०२१ अगस्त २ तारेखसम्ममा १४ करोड बढी रकम आएको झुटो विवरण देखाई भट्टराईले गैर कानुनी ढंगले निकालेको छ ।

यस्तै, भट्टराईको उक्त बैंकमा रहेको खातामा पनि रेमिट्यान्सबाट आएको झुटो विवरण देखाई १ करोड बढी रकम निकालेको थियो । दुवै जनाको बैंक खातामा आएको रकम रेमिट्यान्स पेड तर रेमिट्यान्सको कस्टमरवाइज पेड भएको स्टेटमेन्टमा रुजु गर्दा दुवै जनाको बैंक खातामा रेकिट्यान्सबाट कुनै किसिमको रकम नआएको अनुसन्धानबाट खुलेको थियो ।
बैंकमा अनियमितता बढ्दै गएपछि बैंककै एक कर्मचारीले नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरीवेक्षण विभागमा बेनामे उजुरी दिए । उक्त उजुरीको आधारमा राष्ट्र बैंकले पत्राचार गरेपछि मात्रै बैंकको नाफा रकम रेमिटान्सबाट आएको भन्दै सीईओ सुवेदीलगायतले हिनामिना गर्दै आएको सार्वजनिक भएको हो ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । बैंकको प्रदेश १ स्थित ७ वटा जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको छ । बैंकको चार अर्ब ३० करोड निक्षेप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्