सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरण : सिईयो सुवेदीपछि बाँकी ३ जनाको बयान हुँदै

सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरण : सिईयो सुवेदीपछि बाँकी ३ जनाको बयान हुँदै

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक अनियमितता प्रकरणमा मङ्गलबार मुद्दा दायर भएकामध्ये बैंकका तत्कालिन कार्यकारी अधिकृत नविन सुवेदीसँगको बयान सकिएको छ ।

‘बैकिङ कसुर’ मुद्दामा बैंकका सिईयोसहित १२ विरुद्ध मंगलबार उच्च अदालत विराटनगरमा मुद्दा दायर भएपछि बुधबार सिईयो सुवेदीसँग बयान लिईएको हो । बुधबार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश राजनप्रसाद भट्टराईको इजलासमा सुवेदीको बयान गराईएको हो । सिईयो सुवेदीसँगकोे बयान सकिएपछि अदालतले बिहीबार बाँकी ३ जनाको बयान लिईरहेको छ । बिहीबार बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराई, वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेशन प्रमुख अमित थापा मगरसँगको बयान चलिरहेको उच्च अदालत विराटनगरका प्रवक्ता ओमप्रसाद सुवेदीले बताए । उनले पक्राउ परेका होमप्रसाद पौडेललाई कोरोनाको संक्रमण देखिएका कारण उनको बयान पछि लिईने तयारी रहेको जानकारी दिए । पक्राउ परेकाहरुको बयान सकिएपछि उनीहरू विरूद्ध थुनछेक बहस हुने उनको भनाई छ ।

बैंकको कर्पोरेट कार्यालय विराटनगरका प्रबन्धक विदुर पोखरेल र नेपाल राष्ट्र बैंकको तर्फबाट विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक प्रदिपराज पौडेलको जाहेरीका आधारमा मंगलबार सिईओ सुवेदीसहित १२ जनाविरूद्ध मुद्दा दायर भएको थियो । सिईयो सुवेदीसहित ९ जना कर्मचारी र ३ जना खातावाललाई प्रतिवादी बनाएर मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो ।

जाहेरीमा बैंकको कार्यालय सहयोगी चुडाबहादुर निरौला, कार्यालय सहायक पदबाट राजिनामा दिएका निश्चल सुवेदी, कनिष्ठ सहायक पदबाट राजिनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खातावाला बबिता सुवेदी बस्नेत, कमल दाहाल र मनोज भट्टराईलाई समेत प्रतिवादी ठहर गरिएको छ । उनीहरुमाथि बैंकको १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ अपचलन गरेको आरोप छ । जाहेरीमा प्रतिवादीहरुले अपचलन भएको रकम बैंकलाई भराईदिनुपर्ने र सोही रकम बराबर उनीहरूलाई जरिवाना तथा ६ वर्षदेखि ८ वर्षसम्म कैदको सजाय हुनुपर्ने मागदाबी गरिएको छ ।

सप्तकोशी बैंकका तत्कालिन कार्यकारी अधिकृत सुवेदीले विभिन्न मितिमा नातामा फुपू पर्ने झापाको दमक नगरपालिका–१३ घर भएकी वर्ष ४३ की बबिता बस्नेतको खाताबाट रकम अपचलन गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार ४३ बर्षीया बस्नेतको ९९९०००१५००१५ नं. को खाताबाट सन् २०१६ अगस्ट ७ देखि १४ करोड ५ लाख २१ हजार ३६५ र सन् २०१६ अप्रिल २२ तारिखदेखि १ लाख ७२ हजार ३७० रुपैयाँ गरि ६ वर्षमा कुल १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ अपचलन भएको देखिएको छ । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा उक्त बिषय उल्लेख गरिएको छ ।

‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ अनुसार सुवेदीसहितका १२ जना विरुद्ध दर्ता भएको मुद्दाको सुनुवाई भने उच्च अदालतको वाणिज्य इजलासमा हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्