विराटनगर । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरमा ‘नोट स्रेडिङ एण्ड ब्रिकेटिङ्ग सिस्टम’को सुरुवात गरिएको छ ।
बजारमा चलनचल्तीका लागि नेपाल राष्ट्र बैंकले निष्कासन गरेका नोट पुराना तथा झुत्रा भएर बैंकमा जम्मा भएपछि नष्ट गर्ने प्रणालीलाई प्रविधियुक्त बनाइएको हो । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले प्रादेशिक कार्यालयमा झुत्रा नोट धुल्याउने (धुलोपार्ने) र त्यसलाई ब्रिकेटिङ (गुँइठा) बनाउने आधुनिक प्रविधिको मेसिन जडान गरिएको छ । बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टमको राष्ट्र बैंकका गभर्नर डा.महाप्रसाद अधिकारीले स्वीच थिचेर शुक्रबार उद्घाटन गर्नु भएको हो ।
चलनचल्तीमा रहेका नोट झुत्रा तथा पुराना भएपछि यस अगाडीसम्म राष्ट्रबैंकले फर्नेसमा जलान गर्दै आएको थियो । तर, अब यस्ता पुराना नोट जलाउन छोडेर यसलाई पेलेर धुल्याउने र त्यसबाट ब्रिकेट बनाउन थालिएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले आधुनिकीकरण हुँदै जाने क्रममा मुद्रा व्यवस्थापनका नयाँ प्रविधि भित्र्याइएको बताउनुभयो । उहाँले नोटप्रति नागरिकको विश्वास कायम रहनु भनेको राष्ट्र बैंक र नागरिकबीचको सम्बन्ध सुमधुर हुनु रहेको बताउँदै सफा नोट आपूर्ति गर्ने लक्ष्यलाई नयाँ प्रविधिले साथ दिने बताउनुभयो । उहाँले अब बैंकहरुमा साना नोटहरु झुत्रा भएर थन्किने समस्या अन्त्य हुने दावी समेत गर्नुभयो ।