एमसीसीको विरोधमा सोमबार नेपाल बन्द : सर्वाधिक मारमा विद्यार्थीहरु

एमसीसीको विरोधमा सोमबार नेपाल बन्द : सर्वाधिक मारमा विद्यार्थीहरु

विराटनगर । अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको विरुद्धमा सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दको प्रभाव मोरङमा पनि परेको छ ।

आईतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत ६ राजनीतिक दल र दुई मोर्चाले सोमबार नेपाल बन्दको घोषणा गरेका थिए । बन्दको घोषणासँगै सोमबार मोरङका अधिकांश शिक्षण संस्थाहरु बन्द भएका छन् । हालसम्म कुनै अप्रिय घटना नभएको भएपनि सुरक्षाको दृष्टिकोणले जिल्लाका निजी तथा सामुदायिक विद्यालय र कलेजहरु पूर्ववत रुपमा सञ्चालन भएका छैनन् । कतैकतै विद्यालयहरु सञ्चालन भईरहेको भएपनि अधिकांश स्थानीय तहका विद्यालयहरु भने ठप्प नै रहेको प्याब्सन मोरङकी अध्यक्ष सितला सुब्बाले बताईन् । उनीले भनिन्, ‘सुरक्षाको दृृष्टिकोणले विराटनगरका प्रायः सबै स्कुलहरु बन्द छन् । जिल्लाभित्रका अन्य स्कुलहरु पनि सञ्चालनमा आउन सकेका छैनन् भन्ने रिपोर्टिङ छ ।’

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा आईतबार बसेको विप्लव नेतृत्वको नेकपा, मोहनबिक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा र ऋषि कट्टेल नेतृत्वको नेकपा लगायतका दलहरुको बैठकले फागुन १६ गते नेपाल बन्द गर्ने निर्णय गरेको थियो । बन्दको घोषणासँगै सोमबार प्रदेश १ का विभिन्न जिल्लामा लामा दुुरीका सवारीसाधनहरु पनि सञ्चालनमा आउन सकेका छैनन् । बन्दको घोषणासँगै कुनै अप्रिय घटना हुन नदिन सोमबार मोरङ प्रहरीले सुरक्षा सर्तकता बढाएको छ । शान्ति सुरक्षा कायम गर्न ठाउँठाउँमा प्रहरीको टोली परिचालन गरिएको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले आवर विराटनगरलाई बताए । उनले हालसम्मको अवस्था सामान्य नै रहेको जानकारी दिए ।

आईतबार जारी संयुक्त विज्ञप्तिमा भने सोमबार बजार, यातायात, उद्योग, कलकारखाना र कार्यालय लगायतका सबै संंघसंस्थाहरु बन्द रहने बताइएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्