संरचना अभावले कोसी अस्पतालको प्याथोलोजी लथालिङ्ग, बिरामीको स्याम्पल नै हराउँछ !

संरचना अभावले कोसी अस्पतालको प्याथोलोजी लथालिङ्ग, बिरामीको स्याम्पल नै हराउँछ !

विराटनगर । कोसी अस्पताल विराटनगरमा गत फागुन ६ गते सुगर परीक्षणका लागि स्याम्पल दिनु भएकी सेवाग्राही मन्जु तिम्सिनाको रिपोर्ट नै आएन । स्याम्पल दिएर फर्केपछि भोलिपल्ट रिपोर्ट लिन जाँदा रिपोर्ट थिएन ।
खाली र खाना खाएपछिको रिपोर्ट हराएपछि त्यतिकै फर्कनु भएकी तिम्सिना ११ गते पुनः अस्पताल पुगेर स्याम्पल दिनुभयो । चिकित्सकको सुझाव अनुसार ‘ब्लड सुगर र एचबीए वन सी’ परीक्षण गर्न रगत संकलन गरेपनि १२ गते फास्टिङ ब्लड सुगरको रिपोर्ट थिएन । एफबी\पीपीमध्ये पीपीको र एचबीए वन सी मात्रै परीक्षण रिपोर्ट आयो ।

त्यसपछि पुनः १५ गते अस्पताल पुगेर स्याम्पल दिएपछि सोमबार मात्रै नर्मल ब्लड सुगर परीक्षणको रिपोर्ट पाएको तिम्सिनाको गुनासो छ । आफ्नो स्याम्पल परीक्षण गरेर अर्कै बिरामीको नाममा प्रविष्ट (इन्ट्री) भएको रिपोर्ट कसैले पाएको की भन्ने तिम्सिनाको आशंका छ ।
‘पूर्ण ल्याब’को अवधारणामा सञ्चालित कोसी अस्पतालको प्याथोलोजी विभाग संरचना अभावले अस्तव्यस्त छ । त्यसमाथि जनशक्ति अभाव हुँदा ल्याब परीक्षणका लागि आएका सेवाग्राहीको स्याम्पलदेखि रिपोर्ट समेत मिसमास हुने समस्या दोहोरिने गरेको छ ।
सेवाग्राहीले काउन्टरमा प्रेस्किाइभ पेपर लिएर ओपीडीमा चिकित्सकलाई भेट्छन् । चिकित्सकको सिफारिस अनुसार ल्याबको लागि भुक्तानी गर्दछन् । भुक्तानी रसिद लिएपछि ल्याबमा प्रवेश गर्ने बाटो खुल्छ । ल्याबमा परीक्षण फारम भरेर स्याम्पल दिन्छन्, दिएको स्याम्पल लिएर लेवल लगाउने स्थानमा आउँछन् । लेवल लगाईसकेपछि मात्रै ल्याबका लागि नमूना पठाइन्छन् ।

ल्याब भित्रको यो प्रक्रियामा सेवाग्राहीको स्याम्पल ‘मिसम्याच’ हुने गरेको अस्पतालका अधिकारीहरुको बुझाई छ । कारण, कोसीको ल्याब अझै कम्प्यूटराइज्ड सिस्टममा गईसकेको छैन ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले ओपी ब्लगमा राखिएको ल्याब अस्तव्यस्त हुनुमा संरचना र जनशक्ति अभाव भएको दावी गर्नुहुन्छ । ल्याबको छुट्टै संरचना नहुँदा कोचिएर काम गर्नुपर्ने बाध्यता रहेको मेसु खरेलको भनाई छ ।
स्याम्पल कलेक्सन गर्ने स्थान र लेवल लगाउने स्थान अलग–अलग हुँदा पनि समस्या परेको ल्याब टेक्निसियन लहरी भुजेलको दावी छ । सानो ठाउँमा दैनिक ५०० बिरामीलाई सेवा दिनुपर्ने र आवश्यक जनशक्ति अभाव हुँदा ल्याबमा समस्या रहेको बताइएको छ । भुजेलले सेवाग्राही तिम्सिनाको स्याम्पल कलेक्सन गर्दा एफबी÷पीपी र एचबीए वन सीमध्ये एफबीमा संकेत दिन भुल्दा रिपोर्ट मिस भएको दावी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्