विराटनगरमा चैत १८–२७ विराट एक्स्पो, कोलकाताबाट झिकाईदैं ‘एसीडोम’

विराटनगरमा चैत १८–२७ विराट एक्स्पो, कोलकाताबाट झिकाईदैं ‘एसीडोम’

विराटनगर । विराटनगरमा आगामी चैत १८ गतेदेखि २७ गतेसम्म नौदिन विराट ट्रेड एक्स्पो–२०७८ लगाइने भएको छ । मोरङ व्यापार संघको नेतृत्वमा चारवर्षपछि विराटनगरमा कृषि–उद्योग तथा व्यापार मेला आयोजना गरिने भएको हो ।

यस पटकको एक्स्पोस्थलमा वातानुकुलित स्टल समेत रहने छन् । व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीका अनुसार एसी र कुलर समेतको सुविधा भएका ३०० स्टल मेलामा राखिने छ । व्यापार संघले मेलामा प्रयोग गर्नका लागि कोलकातादेखि ७० वटा एसीडोम झिकाउन लागेको छ । मेलास्थलका ७० वटा स्टलमा एसीसहितको सुविधा हुनेछ ।

चारवर्ष अगाडी सन् २०१८ मा व्यापार संघका अहिलेका वरिष्ठ उपाध्यक्ष अनुपम राठीकै संयोजकत्वमा विराट ट्रेड एक्स्पो आयोजना गरिएको थियो । त्यसबेला १८ करोडको कारोबार भएको राठीले सुनाए । उनले भने यस पटक २ करोड २५ लाख रुपैँया लागत अनुमान गरिएको छ । पूर्व तयारीका क्रममा गरिएको अनुमानित लागतमा १५ लाख रुपिँया अपुग हुने देखिन्छ । सबै क्षेत्रका उत्पादन तथा सेवालाई महोत्सवस्थलमा केन्द्रीत गरिने भएको छ । यस पटकको महोत्सवस्थल पनि विराट नर्सिङ होम पूर्वतर्फको खाली फिल्डलाई रोजिएको छ ।

विगतमा भन्दा यस पटकको व्यापार मेला अझै विशेष हुने दावी गरिएको छ । वरिष्ठ उपाध्यक्ष राठीले चारवर्षमा नयाँ उत्पादन समेत बजारमा आएकोले २०–२५ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । नेपाली उत्पादनको प्रवद्र्धन हुने भएकोले व्यापार संघले प्रदेश सरकार र स्थानीय सरकारसँग मेलामा सहयोग माग्ने योजना बनाएको छ । संघले अघिल्लो पटक जस्तै आगामी मेलाका हरेक साँझ सांगितिक कार्यक्रम आयोजना गर्ने जमर्को गरेको छ । नेपाली तथा विदेशी कलाकारलाई विराटनगर भित्र्याएर साँझमा युवायुवतीको आकर्षण मेलामा बढाउने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्