नारी दिवसको अवसर पारेर विराटनगरमा ‘प्याडिलक्स गर्ल्स अन ह्विल’ खेल प्रतियोगिता हुने

नारी दिवसको अवसर पारेर विराटनगरमा ‘प्याडिलक्स गर्ल्स अन ह्विल’ खेल प्रतियोगिता हुने

विराटनगर । आउँदो फाल्गुण २४ गते प्राईम राउण्ड टेबल १० ले महिला लक्षित ‘प्याडिलक्स गर्ल्स अन ह्विल’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

फाल्गुण २४ गते नारी दिवसको अवसर पारेर राउण्ड टेबल नेपाल अन्तर्गतको प्राईम राउण्ड टेबलले विगतका वर्षहरु झैं यसपटक पनि उक्त खेल प्रतियोगिता आयोजना गर्ने भएको हो । बुधबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै राउण्ड टेबलले प्रतियोगिता बारे जानकारी दिएको छ । प्रतियोगितामा प्रदेश नं. १ को विभिन्न जिल्लाका महिला प्रतियोगीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनृुसार करिब अढाई घण्टाको उक्त खेलमा १५० जना महिला प्रतियोगीहरुले स्कुटर सहित सहभागिता जनाउने छन् । एउटा स्कुटरमा २ जना गरि कुल ७५ वटा स्कुटरलाई प्रतियोगितामा ठाउँ प्रदान गर्ने आयोजकको तयारी छ ।

विराटनगर मेनरोडस्थित जैन भवनबाट सुरु भएर कुल २२ किलोमिटरको दुरी तय गर्दै पुनः जैन भवनमै आएर समापन उक्त खेलका प्रतियोगीहरुले विभिन्न १० स्थानमा पुगेर प्राप्त सङ्केतका आधारमा निर्धारित समयभित्र विभिन्न टास्कहरु पुरा गर्नुपर्ने छ । जसबाट प्राप्त अङ्कका आधारमा प्रतियोगीहरु मध्येबाट खेलको विजेता घोषणा गरिने आयोजक टीमका अध्यक्ष भबेस राठीले बताए । उनले खेलका विजेताहरुका लागि कुल १ लाख मुल्य बराबरको पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए । उनले भने, ‘खेलमा प्रथम हुनेलाई कुल ४८ हजार मुल्य बराबरको ४० इन्चको टेलिभिजनको व्यवस्था गरिएको छ । द्वितीय र तृतीयलाई पनि क्रमशः ३० र २० हजार मुल्य बराबरको पुरस्कारको प्रबन्ध मिलाईएको छ ।’

फाल्गुण २४ गते दिनको १० बजेदेखि सुरु हुने उक्त खेलमा ट्राफिक नियमको पुर्ण पालना गरिने आयोजक टीमले जनाएको छ । त्यसका लागि आयोजकले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँग सहकार्य गरेको छ । आयोजकको अनुसार सवारी चालक अनुमति पत्र भएका महिलाहरुले मात्र खेलमा सहभागिता जनाउन सक्नेछन् । सहभागी हुन स्कुटरमा सवारी दुई जनाका लागि कुल १ हजार ५ सयको दर्ता शूल्क निर्धारण गरिएको छ । सहभागिताका लागि विराटनगरको सेन्ट्रल बजार, डिजी स्टोर अथवा ९८१२३७३६१६ मा सम्पर्क गर्न सकिने जनाईएको छ ।

प्रतियोगितामा राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितिमा साङ्गितिक तथा सांस्कृतिक कार्यक्रमको समेत आयोेजना गरिएको प्राईम राउण्ड टेबलका पुर्व अध्यक्ष प्रकाश मुण्डदाले बताए । उनले प्रतियोगिताबाट संकलित रकम सामाजिक सेवाको कार्यमा खर्च हुने जानकारी समेत दिए ।

प्राईम राउण्ड टेबल १० ले भने यसअघि सन् २०१६ र २०१८ मा यस खेल प्रतियोगिताको आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्