विराटनगर । ठेकेदार, प्रदेश सरकार अन्तर्गतको आर्थिक मामिला तथा योजना मन्त्रालय र सहरी विकास तथा भवन कार्यालयको मिलेमतोमा प्रक्रिया नै पूरा नगरी १ करोड ४० लाख रुपैँया लागतमा मर्मत भईरहेको भवनको काम रोकिएको छ । प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएपछि संरचना अभाव खेपिरहेका मन्त्रालय राख्नका लागि प्रक्रिया पूरा नगरी ठेकेदारसँगको मिलेतोमा सुरु गरिएको भवन निर्माणको काम रोकिएको हो ।
दुई मन्त्रालय तत्काल राख्नका लागि विराटनगरको जतुवास्थित विराट साइन्स क्याम्पसको भवन मर्मतको काम आर्थिम मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोको मौखिक आदेशमा सुरु गरिएको थियो ।
मन्त्री आङ्बोको आदेशमा सहरी विकास तथा भवन कार्यालय मोरङका प्रमुख मिलन आचार्यले ठेकेदार कन्हैया झामार्फत गराउँदै आएको आएका थिए । तर, चौतर्फी आलोचना बढेपछि शुक्रबारबाट काम रोकिएको हो । आचार्यले मर्मतसंभारको काममा राजनीतिक विवाद बढेको भन्दै ठेकेदारलाई काम रोक्न आग्रह गरेका हुन् ।
भवनको मर्मत, रंगरोगन, सेनिटरी, बिजुली, झ्यालढोका मर्मतका साथै भवन प्रवेश द्वार र भर्याङमा मार्बल लगाउने काम सुरु भएको थियो । विभागीय मन्त्रालयलाई बेवास्ता गर्दै आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोको मौखिक आदेशमा भवन मर्मतको काम सुरु गरिएको थियो ।
मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको विराट साइन्स क्याम्पसको भवन र जग्गा प्रदेश सरकारले आफू मातहत नै नल्याई मर्मतको काम अघि बढाइएको थियो । हतारहतार मन्त्रालय फुटाएर छरपष्ट भएपछि राख्ने स्थानको अभावमा प्रदेश सरकार गैरकानुनी संरचनामा रकम खर्च गर्न थालेको छ ।