पाँचवर्षमा विराटनगरका ३२ घरपरिवारलाई बल्ल पक्की घर

<span class='c1'>पाँचवर्षमा विराटनगरका ३२ घरपरिवारलाई</span> <span class='c2'>बल्ल पक्की घर</span>

विराटनगर । एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ । सिकुवा र आगँन ढलाई गरेर पक्की बनाइएको छ । एक समान र उही आकारका घरले वस्ती निकै व्यवस्थित देखिन्छ । सफा आँगन, केटाकेटी खेल्ने फराकिलो ठाउँ अनि व्यवस्थित शौचालयको पनि प्रबन्ध भएको छ ।
सामुहिक वस्ती विकासको गर्ने उद्देश्यले विराटनगर–१९ धरमपुरामा निर्माण भएका नयाँ संरचनामा ३२ परिवारले आश्रय पाएका छन् । त्यहाँ बसोबास गर्ने सबै अल्पसंख्यक मुसहर (ऋषिदेव) समुदायका मानिसहरु छन् । विराटनगर महानगरपालिका भित्रका ३२ घर बिपन्नले पाँचवर्षमा बल्ल आवास पाएका हुन् ।

‘महानगर आवास’ योजनाअन्तर्गत विपन्न मुसहर समुदायको लागि विराटनगर महानगरपालिकाले वस्ती नमार्ण गरी समुदायमा हस्तान्तरण गरेको हो । स्थानीयका अनुसार नयाँ घरमा सरेपछि अब सिंघीया खोलाको बाढीले उठिबास लगाउने हो कि भन्ने रत्तिभर पिर छैन ।
“नयाँ बस्तीमा सरेपछि त चैनको निन्द्रा पर्न थालेको छ,” स्थानीय कविता ऋषिदेवले भनिन्,“छोराछोरी धुलोहिलोमा डुब्लान भन्ने पिर पनि अब हटेको छ ।” एक परिवारका लागि दुईवटा सुत्ने कोठा, एक भान्सा घर र शौचालयसहितको व्यवस्थित घर आफूहरुले प्राप्त गरेको ऋषिदेवले सुनाईन् । विराटनगर महानगरपालिकाले बस्तीमा नाला, बाटो बनाई खानेपानीका लागि ट्यूबेल जडान गरिदिएको छ । यही भौतिक संरचनामा क्रृषिदेव परिवारको दिनचर्या चल्न थालेको छ ।

लालसे ऋषिदेवलाई खोला किनारको झुप्रोबाट कहिल्यै पार नपाइएला कि भन्ने ठूलो चिन्ता थियो । सिंघीयाको बाढीले घर बगाएपछि उनी निक्कै लामो समय दाताले दिएको पालमुनि ओत्तिएका थिए । तर, उनलाई अब न खोला नत बाढीले अत्यास पार्ने हो कि भन्ने पिर छ । “हाम्रो त दिन फिरेर आएको छ । अहिले त पक्की घरमा बस्न पाइएको छ,” उनले भने,“हामी जस्ता धेरै गरिबसँग अहिले आफ्नै घर छ ।” महानगरले घर बनाई दिएपछि बुढेसकालमा आफूलाई सन्तोक मिलेको लालसेले सुनाए ।
कविता र लालसे जस्तै मुनिश्री ऋषिदेवका दिन पनि फिरेका छन् । श्रीमान र उनी दैनिक ज्यालादारीमा श्रम गर्छन । दैनिक हुने कमाईले परिवार चलेको छ । छोराछोरीलाई पनि नजिकैको आधारभुत विद्यालयमा पढाउन सजिलो भएको छ । मुनिश्री भन्छिन्,“हाम्रो बस्ती नै नयाँ ठाउँमा सरेको छ । अब घर छैन भन्ने चिन्ता हामीलाई छैन ।”

महानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख पुनम दाहाल भन्छन्,“घर नभएका विपन्न परिवारलाई लक्षित गरी ३२ घर निर्माण गरिएको छ । यसबाट सिमान्तकृत समुदायलाई सामुदायिक बस्तीको अवधारणाअनुसार बसाल्न सकिएको छ ।”
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बाढीबाट हरेक वर्ष डुबानमा पर्ने विपन्नका बस्तीलाई सुरक्षित स्थानमा सार्ने उद्देश्यसाथ आवास योजना अघि सारिएको बताएका छन् । “खोला किनारका बस्ती हरेक वर्ष डुबेर हुने क्षति । तिनको व्यवस्थापनमा हुने ठूलो खर्च घटाउने उद्देश्यसाथ वस्ती योजना अघि सारेका छौं । विराटनगर–१२ र अन्य वडाहरुमा पनि हामीले यस्तै योजना अघि बढाएका छौं,” पराजुलीले भने ।
बस्ती विकासमा महानगरपालिकासँग हेबट्याट्स फर ह्युम्यानिटी, जीवन विकास र सहारा नेपालले साझेदारी गरेका हुन । भवन निर्माणको सबै खर्च हेबट्याट्सले गरेको र महानगरले सडक तथा ढल निर्माणमा लगानी गरेको दाहालले सुनाए । निर्माण भएको संरचनामा एउटा भान्सा, दुईवटा कोठा र शौचालय भएको घर छन् । दाहालका अनुसार अब बस्तीमा सामुदायिक भवन र खानेपानीको नयाँ परियोजना शुरु गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्